दिवस रिजाल,
खोटाङ । स्थानीय स्तरमा उपलब्ध हुने मकैका खोस्टाबाट सजावटका सामान बन्छ र बिक्री हुन्छ भन्दा त्यति पत्यार लाग्दैन । तर, अहिले ग्रामीण क्षेत्रका महिलाहरूलाई त्यसै खेरजाने सामानबाट सजावटका सामान बुनेर विदेश गरिरहेका छन् ।

गाईबस्तुलाई खुवाउने घाँसको रूपमा प्रयोग गरिने मकैको खोस्टाबाट विभिन्न सजावटका सामाग्री बनाएर ग्रामीण क्षेत्रका बेरोजगार महिलाहरूले आयआर्जन गर्न थालेका छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यक्रमअन्तर्गत सीप सिकेर खोटाङका महिलाहरुले आयआर्जन गर्न थालेका हुन् ।

सुरुमा त खोस्टाबाट रंगिबिरंगीका सजावटका समान बन्लान भन्ने उनीहरूले सोचेकै थिएनन् । तर, अहिले यहाँका सबै महिलाहरू सजावटका सामाग्री बुन्न थालिसकेका छन् । खोस्टाबाट विभिन्न किसिमका खेलौना, चकटी, टोपी, जुक्ता, पर्दा, ज्याकेट, सर्ट र खोस्टालाई यसरी रङ्गाएर रंगीबिरंगीका फूल र फूलदानी बुनेर विदेश निर्यातसमेत गर्न थालिएको छ ।

खोस्टाबाट बनेका सामान अमेरिका, युरोप, अष्टे«लिया निर्यात हुने गरेको स्थानीय बताउँछन् । दक्ष जनशक्तिको अभाव र नयाँ प्रविधिको विकास नहुँदा माग अनुसारको पूर्ति गर्न नसकिएको महिलाहरूको गुनासो छ ।

मकैको खोस्टाबाट बनेका सामाग्रीलाई खोटाङको चिनो र उपहारको रूपमा सम्मानस्वरुप प्रदान गर्ने खोटाङवासीको योजना छ । खोटाङ आउने जो कोहिलाई यस्तै बस्तुहरू उपहार दिइने योजना रहेको उनीहरूको भनाइ छ । यसलाई स्थानीय स्तरमै आधुनिकीकरण गर्ने र गुणस्तरीय वस्तु उत्पादन गरी राष्ट्रिय अन्तर्राष्ट्रिय बजारमा पुर्याउने उनीहरूको योजना छ ।

स्थानीय स्तरमै रहेको मकैको खोस्टाबाट उत्कृष्ट सामान बनाउन सकिने भएपछि यहाँका बेरोजगार महिलाहरू समेत सीप सिक्न लालयित भएका छन् । घरमै बसीबसी काम गर्न सकिने र कच्चा पदार्थको अभाव नहुने भएपछि उनीहरु आकर्षित भएका हुन् ।

त्यसैले स्थानीय सरकार पनि स्थानीय स्तरमै पाइने यस्ता सामाग्रीको प्रयोग बढाउन र बेरोजगार महिलाहरूको सीप अभिवृद्धी गरी आय आर्जन बढाउने कामतर्फ केन्द्रीत हुनु पर्ने देखिन्छ । इमेज खबरबाट