धनकुटा । बारी तथा जंगलमा उत्पादन भएको सजीवन टिपेर मुलघाटसहित कोसी लोकमार्गको छेउ छाउ बसेर यात्रु तथा तरकारी व्यापारीलाई बिक्री गर्ने यहाँका स्थानीयले राम्रो आम्दानी लिन थालेका छन् ।

जंगलमा पाइने तरकारीमध्ये सजीवनको व्यापार समेत फस्टाउँदै गएको छ । मानव शरीरलाई आवश्यक पर्ने पोषक तत्व प्रसस्त पाइने भएपछि धनकुटाको मुलघाटबाट तराई झर्ने र माथिल्लो क्षेत्र जाने जो कोहीका लागि अहिले सजीवन कोसेली बन्ने गरेको छ ।

एक दशक अघिसम्म बिक्री वितरण नै नहुने सजीवन पछिल्लो समय भने तरकारीको रुपमा लोकप्रिय बन्दै गएको र अहिले यसको व्यापार पनि राम्रो रहेको व्यापारी बताउँछन् ।

सोहीजन, सैजन, सजिउन, मुनका आदि नामले चिनिने यसलाई यहाँ गर्मी मौसममा शीतल सब्जीको नामले समेत चिनिन्छ । एक दशक यता मात्र बिक्री वितरण हुन थालेको सजीवन माग बढ्न थालेपछि धनकुटामा कतिपय स्थानमा पछिल्लो समय व्यवस्थित रुपमै खेती समेत गर्न थालिएको छ ।

पानी कम भएको सुख्खा क्षेत्रमै खेती गर्न सकिने यो तरकारी बाली यो समुद्र सतहबाट १२०० मिटरको उचाइसम्म खेती गर्न सकिन्छ । धनकुटाको तमोर र अरुण नदी आसपाससहित बेसी क्षेत्रको करिब १५ हजार हेक्टर क्षेत्रफलमा यसको खेती गर्न सकिन्छ । सजीवन खेतीका लागि बिउ तथा अनुदान लगायतका कार्यक्रम सञ्चालन गर्नुपर्ने देखिन्छ ।