काठमाडौं । नेपालमा पछिल्लो विनाशकारी भूकम्प गएको आज बैशाख १२ गतेवाट ६ बर्ष पूरा भएको छ ।

६ बर्ष अघि आजैको दिन बैशाख १२ गते गोरखाको बारपाक केन्द्रविन्दू बनाएर ७ दशमलव ६ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको थियो ।

विनाशकारी भूकम्पले नौ हजारभन्दा बढी नेपालीको ज्यान लिएको थियो । १८ हजारभन्दा बढीलाई घाइते बनाएको यो दिन निक्कै दुःखदायी र त्राशदीपूर्ण दिनको रुपमा मानिन्छ ।

बैशाख १२ गतेको भूकम्पवाट नेपालको १४ जिल्ला अतिप्रभावित बनेको थियो । त्यसको प्रत्यक्ष असर ३१ जिल्लामा पनि परेको थियो । निजी घर तथा सरकारी भवन गरेर करिब नौ लाख घर तथा भवन काम नलाग्ने गरेर भत्किएको थियो ।

यता राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले बैशाख १२ को भूकम्पबाट क्षति भएका निजी अवास क्षेत्रको पुनर्निर्माणको प्रगति उच्च रहेको जनाएको छ ।

अनुदान सम्झौता गरेका ८ लाख ११ हजार ७ सय ५४ लाभग्राहीमध्ये घर पुनर्निर्माण शुरु गरेका कुल लाभग्राहीको संख्या ७ लाख ५३ हजार १ सय ४ रहेको र उक्त संख्या ९३ प्रतिशत हुने प्राधिकरणले जनाएको छ ।

यस्तै पहिलो किस्ता वितरण ९९ दशमलब ८६ प्रतिशत, दोस्रो किस्ता वितरण ८६ दशमलब ७८ प्रतिशत र तेस्रो किस्ता वितरण ७८दशमलब ६६ प्रतिशत पुगेको छ ।

क्षतिग्रस्त ९ सय २० सम्पदा मध्ये ४ सय ९३ वटाको पुनर्निर्माण सम्पन्न भइकसकेको छ भने २ सय ८८ वटा पुनर्निर्माण भइरहेका छन् ।

रानीपोखरी र धरहराको पुनर्निर्माण सम्पन्न भईसकेको छ भने सिंहदरबारको उत्तर, दक्षिण र पूर्वी भागको पूनर्निमाण सम्पन्न भई गत वर्ष देखि सञ्चालनमा आइसकेको छ ।

केशरमहल, बबरमहल, बालमन्दिर, नारायणहिटी संग्राहलय क्षेत्रमा रहेको रणोद्दीप दरबार लगायतका पुरातात्विक महत्वका दरबारहरुको जिर्णोद्धार गर्नेकार्य जारी छ । क्षति भई मर्मत गर्नुपर्ने ४ सय २ गुम्बामध्ये २ सय ९४ वटा सम्पन्न भइसकेका छन् ।

पुनर्निर्माण गर्नुपर्ने ८ सय ९५ मध्ये एक सय भन्दा पुराना र २ हजार वर्ग फिट भन्दा बढी प्लिथ एरिया भएका २ सय ६४ वटा गुम्बामध्ये ३६ वटा र १ सय वर्ष भन्दा कम र २ हजार वर्ग फिटभन्दा मुनिका ६ सय ३१ गुम्बामध्ये १ सय १ वटाको पुननिर्माण कार्य अगाडि बढिसकेको जनाइएको छ ।

भूकम्पबाट क्षतिग्रस्त कुल ७ हजार ५ सय ५३ विद्यालयमध्ये ८३ प्रतिशत विद्यालयको पुनर्निर्माण सम्पन्न भएको छ, बाँकी १७ प्रतिशत विद्यालय पुनर्निर्माणको चरणमा रहेको पनि प्राधिकरणले जनाएको छ ।