प्रकाश लिम्बु,
तेह्रथुम । पहाडी जिल्लाहरुमा नगदे बालीको रुपमा अलैंचीको उत्पादन राम्रो मानिन्छ । विशेष गरी प्रदेश १ का पहाडी जिल्लामा अत्यधिक हुने अलैंचीमा रोग लाग्न थालेसँगै किसान चिन्तित बनेका छन् ।
रोगको संक्रमणबाट ठूला ठूला बगान मासिन थालेपछि आम्दानीको श्रोत गुमेको भन्दै किसान चिन्तित बन्न थालेका छन् । केहीवर्ष अघि अलैचीको मूल्य प्रतिमन १ लाख रुपैयाँसम्म पुग्दा अलैची खेतीमा हौसिएका किसानहरु अहिले निराश भएका छन् ।
पुख्र्यौली खेतीभन्दा राम्रो आम्दानी हुने भएपछी किसानहरुले यो खेती रोजेका हुन । तर, यसबर्ष भने फुल्ने सिजनमै अलैचीको बोट यसरी सुक्न थालेपछि तेह्रथुमका किसानहरु चिन्तित बनेका छन् ।
मुख्य आम्दानीको श्रोत नै अलैची खेती भएका किसानहरु यो बर्ष आम्दानी नहुने भएपछि चिन्तित भएका हुन् । गतबर्ष ६ मनसम्म अलैची उत्पादन भएको बगानमा यसबर्ष ५ किलो पनी उत्पादन हुने अबस्था नरहेको अलैची किसान खहर सिंह मगरको गुनासो छ ।
जिल्लाको ग्रामिण क्षेत्रमा पछिल्लो समय अलैची खेती फस्टाउँदै गएको छ । यहाँका किसानले ५ रोपनी देखी ५० रोपनीको क्षेत्रफलमा खेती गर्दै आएका छन् ।
अलैचीले राम्रो आम्दानी दिन थालेपछि अन्य बाली मासेर अलैचीखेतीमा हौसीएका किसान रोगले सताउन थालेपछी आम्दानीको श्रोत नै ठप्प भएको भुमिकला लिम्बुको दुःखेसो छ ।
असिलो र भिरालो जमिनमा राम्रो उत्पादन हुने यो खेती योग्य जमिन मासेर किसानहरु खेती बिस्तार गर्दै आएका छन ।
गत चैतमा आएको मनसुनपछि खडेरीका कारण अलैचीको जरा सुकेको र ढुसीनास रोगका कारण बगानहरु सुक्न थालेको कृषी शाखा कार्यालय छथर गाउँपालिकाका प्रमुख हेम थापा बताउनुहुन्छ ।
जिल्लाको ग्रामिण क्षेत्रमा किसानहरुले खेती गर्दै आएको अलैची खेतीमा आएको समस्यालाई निराकरणका लागी कृषी कार्यालय र सरोकारवालाहरुले ध्यान नदिए अलैची खेती मासिने मात्र होइन अलैची किसान नै बिस्थापित हुुने देखिन्छ । इमेज खबरबाट