बिर्तामोड । कोरोना संक्रमण र मृत्यु दर बढ्दै गएपछि झापामा आगामी जेठदेखि निषेधाज्ञालाई कडाई गरिने भएको छ ।

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले जेठदेखि कठोर निषेधाज्ञा हुने बताएका हुन् । जिल्ला समन्वय समिति झापाले जुममार्फत आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले संक्रमणको जोखिमलाई ख्याल गर्दै कठोर निषेधाज्ञा गर्नुको विकल्प नरहेको जानकारी दिए ।

झापाको वर्तमान अवस्थाबारे जानकारी दिँदै उनले जिल्लामा मृत्यु र संक्रमण दर बढ्दै गएको बताए । जिल्लामा कोरोनाको संक्रमण, नियन्त्रण, उपचार र समन्वयका बारेमा जानकारी दिँदै प्रजिअ तिमिल्सिनाले मुख्य चुनौती उपचार भएको बताए ।

इलाम, पाँचथर र ताप्लेजुङसहित अन्य जिल्लाबाट समेत उपचारका लागि झापा आउने क्रम बढिरहेको भन्दै उनले उपचार सेवा विस्तार गर्नैपर्नेमा जोड दिए । प्रजिअ तिमिल्सिनाले आइसोलेसन, एचडीयू, अक्सिजनको उपलब्धताका बारेमा समेत जानकारी दिए ।

जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेलले निषेधाज्ञाको उल्लंघन बढ्दै गएकाले त्यसको कार्यान्वयनमा कडाई गर्न आग्रह गरे ।