लमजुङ । लमजुङमा बुधबार बिहान गएको भूकम्पमा केही घर भत्किनुका साथै केही स्थानीय घाइते भएका छन् ।

मर्स्याङ्दी गाउँपालिकाको भुलभुले क्षेत्रलाई केन्द्रविन्दु बनाएर बिहान ५ बजेर ४२ मिनेटमा ५ दशमलव ८ म्याग्निच्युडको भूकम्प गएको हो ।

भूकम्पको केन्द्रबिन्दु मर्स्याङ्दी गाउँपालिकाका घरहरूमा बढीजसो क्षति पुगेको छ । गाउापालिका अध्यक्ष अर्जुन गुरुङले भूकम्पपछि मानिसहरू भागाभाग भएको बताए । उनका अनुसार केही घरमा क्षति भएको र केही घाइते भएको जानकारीमा आएको छ । ‘तर यकिन विवरण आउन अझै बाँकी छ,’ उनले भने ।

प्रमुख जिल्ला अधिकारी होमप्रसाद लुइँटेलले घर भत्किँदा बेंसीसहर नगरपालिका ६, चनौटेकी ३६ वर्षीया उमा गुरुङ र बेंसीसहर ११, रामचोकबेंसीमा ८७ वर्षीया खोपकुमारी पाण्डे घाइते भएको जानकारी दिए । दुवैको जिल्ला अस्पताल लमजुङमा उपचार भइरहेको उनले बताए ।

स्थानीयका अनुसार मर्स्याङ्दी गाउँपालिका ६, ठूलीबेंसीमा २२ वर्षीय गोविन्द अधिकारी घाइते भएका छन् । डीएसपी गंगाबहादुर थापाले केही घर भत्किएको र केही घाइते भएको जानकारी आए पनि सबै विवरण आइनसकेको बताए । ‘केही भागाभाग भएर सामान्य घाइते भएका छन्,’ उनले भने, ‘केहीका गोठ, धन्सार तथा कुखुराका खोरहरू भत्किएका छन् ।’

बेंसीसहर नगरपालिका प्रमुख गुमानसिंह अर्यालले भूकम्पमा घर क्षति भएका केही स्थानीय र घाइतेहरूलाई आफूले भेटेको बताए । केही घरमा क्षति पुगेको र केही घाइते भएको जानकारी रहे पनि सबै विवरण आइनसकेको उनको भनाइ छ ।

भूकम्पको धक्का गोरखा, तनहुँ, धादिङ, काठमाडौं, कास्कीलगायत जिल्लाका बासिन्दाले महसुश गरेका थिए।