मालती मोक्तान,
धनकुटा । धनकुटाको पाख्रिबास नगरपालिका वडा नं ९ का कृषक शुक्रबहादुर राईले यो वर्ष ३ लाखको मह तथा २ सयभन्दा बढी माहुरीको घार बिक्री गर्नु भएको छ ।

आज भन्दा १० वर्ष अगाडि विदेशमा राम्रो कमाइ नभएपछि विदेशबाट घर फर्केर व्यावसायिक रुपमा कृषि क्षेत्रमा लागेका शुक्र राई अहिले कृषि पेशाबाट मनग्य आम्दानी लिन थालेका बताउनु हुन्छ ।

२०७२ साल देखि व्यावसायिक रुपमा कृषि क्षेत्रमा लागेका राई अहिले माहुरी पालन व्यवसायबाट राम्रो आम्दानी लिन सफल हुनु भएको छ । उहाँले अहिले ८५ वटा भन्दा माथि सेरेना जातका घार व्यावसायिक रुपमा माहुरी पालन गरेको बताउनुभयो ।

यो वर्ष २ सय ७० केजी मह उत्पादन गरेर ३ लाख आम्दानी लिन सफल भएको कृषक राईको भनाई छ । त्यस्तै गरी माहुरीको घार पनि बनाउने भएकाले माहुरीको आधुनिक घार बेचेर यस वर्ष ९० ओटा ५ हजार का दरले प्रति गोटा घार बेचेर ४ लाख ५० हजार आम्दानी भएको राईले बताउनु भयो ।

त्यस्तै गरी उहाँले माहुरी माहु सहितको ५ वटा घार र माहुरीको गोला मात्रका घार २८ वटा पनि १ लाख ९० हजारको बिक्री गरेको राईले जानकारी दिनुभयो । अझै पनि जिल्ला कृषि ज्ञान केन्द्र लगायत बाट २२ वटा माहुरीको घारको माग भइरहेको बताउनुभयो ।

उहाँले माहुरीको घार तथा मह जिल्लाको विभिन्न स्थानीय तह तथा बाहिर जिल्ला सुनसरी, मोरङ, उदयपुर भोजपुर लगायतका जिल्लामा निर्यात हुने गरेको बताउनुभयो । माहुरीको मह प्रति केजी १ हजारले बेच्ने गरेको जानकारी दिनुभयो । रेडियो नेपालबाट