निशेष राई,
झापा । झापाको कमल गाउँपालिकामा व्यावसायिकरुपमा खेती गर्ने किसानको तरकारी बाली खेतबारीमै कुहिन थालेको छ ।

कोरोना कहरका कारण बजार बन्द हुँदा ठुलो क्षेत्रको तरकारी बाली बारीमै कुहिन थालेको किसानले बताएका छन् । कमल २ सिमलडाँगीका तोरण श्रेष्ठ यसैबर्ष विदेशबाट घर फर्कनु भएको हो । लामो समय कोरोना कहरले समस्या भएपछि स्वदेशमै केही गरौँ भनेर यो बर्ष थालेको खेती बजार बन्दले थप समस्या छ । समयमा विक्री गर्न नपाए पछि उहाँले लगाएको तरकारी बाली बारीमै कुहिन थालेको छ ।

गत बर्ष समेत लामो समय बजार बन्द हुँदा तरकारी बालीबाट ठुलो क्षति व्यहोर्नु परेका किसानले यो पनि उस्तै समस्या झेल्नु परेको छ । साइकलमा घरघरमा लगेको भरले मात्र विक्री गर्न नसकेकाले धेरै सागसब्जी बारीमै कुहिन थालेको अर्का किसान नवराज पौडेलले बताउनुभयो ।

काँक्रा खेती गर्नेले गत बर्ष भन्दा केही राम्रो मूल्य र बजार खुलेकै समय विक्री गर्न पाए । तर, पछुवा खेती गर्ने धेरै किसानको काँक्रा बजार बन्द भएपछि बारीमै कुहिएको लामो समयदेखि व्यावसायिक तरकारी खेती गर्दै आउनु भएकी अगुवा किसान सरिता पौडेलले बताउनुभयो ।

झापामा तरकारी बाली मात्र झण्डै साढे ९ हजार हेक्टरमा खेती हुँदै आएको छ । हरेक बर्ष लाखौँ रुपैयाँको तरकारी बाली विक्री गर्ने किसान कोरोना कहरका कारण यो बर्ष पनि गत बर्ष जस्तै मारमा परेको उनीहरूले गुनासो पोखेका छन् ।