बिर्तामोड । झापामा कोरोना संक्रमितको मृत्यु दर घट्न सकेको छैन । यसक्रममा आज जिल्लाका ७ जनाको संक्रमणबाट मृत्यु भएको छ ।
बिर्तामोडको बिर्तासिटी हस्पिटलमा मेचीनगर नगरपालिकाका वडाध्यक्षसहित तीनजना कोरोना संक्रमितको मृत्यु भएको हो । मेचीनगर वडा नं ७ का वडाध्यक्ष ५४ वर्षिय चन्दन मेचेको कोरोना संक्रमणबाट मृत्यु भएको अस्पतालका जनसम्पर्क अधिकारी बमबहादुर बस्नेतले जानकारी दिए ।
त्यस्तै आज बिहान बिर्तासिटी हस्पिटलमा हल्दिबारी १ का २९ वर्षिय ठाकुर थरका पुरुषको उपचारका क्रममा मृत्यु भएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख पुष्कर निरौलाले बताए ।
त्यस्तै बुद्धशान्ति गाउँपालिका वडा नं ४ का ६२ वर्षिय पुरुषको गएराति बिर्तासिटी हस्पिटलमै मृत्यु भएको गाउँपालिकाका स्वास्थ्य शाखाका भोला अधिकारीले बताए । हिजो बिहान मात्र बुद्धशान्तिका एक संक्रमितको मेची अस्पतालमा मृत्यु भएको थियो ।
त्यस्तै आज दमकका थप २ संक्रमितको मृत्यु भएको छ । दमक नगरपालिकाका स्वास्थ्य शाखाका अनुसार दमक ९ का २८ र ६३ बर्षिय पुरुषको मृत्यु भएको हो । २८ बर्षिय संक्रमित पुरुषको बिएण्डसी अस्पताल बिर्तामोडमा हिजो बेलुका मृत्यु भएको हो ।
यस्तै अर्का संक्रमित ६३ वर्षिय बृद्धको भने दमकको लाइफलाइन अस्पतालमा हिजो बेलुका नै मृत्यु भएको दमक नगरपालिका स्वास्थ्य शाखाका कुवेर भट्टराईले जानकारी दिए ।
त्यस्तै कनकाई ८ का ५२ वर्षिय पुरुषको नोवेल हस्पिटल विराटनगरमा आज बिहान मृत्यु भएको छ । बिर्तासिटी हस्पिटल बिर्तामोडमा संक्रमण पुष्टि भएपछि उनी उपचारका लागि विराटनगर गएका थिए ।
नोवेल हस्पिटलमै भद्रपुर ५ का ४० वर्षिय दिलिप सिंहको कोरोना संक्रमणबाट मृत्यु भएको भनिए पनि यसअघि नै उनको रिपोर्ट नेगेटिभ आइसकेको नगरपालिकाका कोभिड पर्सन मनोज भट्टराईले बताए ।
यसैबीच भद्रपुरस्थित मेची अस्पतालमा गएराति कोरोनाका कारण पाँचथरका ६० वर्षिय व्यक्तिको मृत्यु भएको छ । मृत्यु भएका व्यक्तिको शव करिव १२ घण्टापछि नेपाली सेनाको टोलीले दाहसंस्कार गरेको छ ।