प्रकाश नेपाल,
इलाम । पछिल्लो केही दिनयता जिल्ला जिल्लामा भएको निषेधाज्ञाले सम्पूर्ण कृषि थोक बजार बन्द हुँदा किसानले उत्पादन गरेको तरकारी बिक्रीमा समस्या भएको छ ।

इलाम नगरपालिका १० जौबारीका गंगा प्रधानले करिव ७५ मन उन्नत जातको प्याज उत्पादन गर्नु भएको छ । लगातार तीन वर्षदेखि अर्गानिक प्याजको खेती गर्दै आउनु भएका प्रधानको प्याज यो वर्ष भने विक्रिमा समस्या भएको छ ।

प्रधानको जस्तै जौबारी गाउँमा प्राय घरमा उन्नत जातको प्याज उत्पादन हुदै आएको छ । गत साल समेत प्याज उत्पादन गर्ने सीजनमा भएको बन्दाबन्दीले विक्रीमा समस्या भएको किसानहरु बताउँछन् ।

यो वर्ष लगातार बढेको कोरोना संक्रमण र त्यसपछि कृषि थोक बजार समेत बन्द हुँदा प्याज विक्रिमा समस्या रहेको अर्का किसान तीर्थराज सुवेदीे बताउनुहुन्छ ।

यतिबेला जौबारी पुग्ने जोकोहीले घर घरको बरण्डामा प्याज राखेको देख्न पाइन्छ । दक्षिण अफ्रिकाबाट आयात भएको उन्नत बीउ महँगो मुल्य तिरेर लगाएको किसानहरुको भनाई छ ।

प्याज रोप्ने सिजनमा खडेरीका कारण पानी लगाउन समस्या भएको र अहिले विक्रिमा समस्या हुँदा लगानी डुव्ने समस्या रहेको छ । अर्गानिक रुपमा उन्नत जातको प्याज खेति गरेका किसानले एक दाना प्याज एक किलो आठ सय ग्रामसम्मको फलाएका छन् ।

सरदर डेढ किलोग्राम तौल भएका प्याज उत्पादन भएपनि बजार नहँदा किसान निरास देखिएका छन् ।