विराटनगर । कोरोना संक्रमण भएपछि उपचाररत सुनसरीका पत्रकार चन्द्र न्यौपानेको निधन भएको छ ।
विराट शिक्षण अस्पतालमा आज बिहान ८ बजेर २५ मिनेटमा ५० बर्षीय न्यौपानेको निधन भएको अस्पतालका फोकल पर्सन चन्द्र देवले जानकारी दिए ।
‘उहाँलाई पोजेटिभ भएर सिवियर निमोनिया भइसके पछि अस्पताल ल्याइएको थियो’, उनले भने, ‘यहाँ ११ दिनजति आइसियु र ५, ७ दिनदेखि भेन्टिलेटरमा उपचार भइरहेको थियो । दिनदिनै अवस्था बिग्रदै गयो, र आज बिहान बित्नुभयो ।’
न्यौपानेलाई उपचारको क्रममा रेमडिसिभर औषधि प्रयोग गरिएको थियो भने प्लाज्मा थेरापी पनि गरिएको थियो । न्यौपाने इटहरीस्थित सप्तकोशी एफएमका स्टेसन मेनेजर थिए भने नेपालको निजी रेडियो सञ्चालकहरुको छाता संगठन ब्रोडकास्टिंग एशोसिएशन अफ नेपाल (वान)को अध्यक्ष थिए ।
उनलाई नेपाल सरकारले गठन गरेको विज्ञापन बोर्डमा पनि सदस्यमा नियुक्त गरेको थियो । यस्तै, नेकपा एमालेको प्रचार विभागको सदस्य पनि थिए ।