तेह्रथुम । रोजगारीका लागि तेह्रथुमका युवाहरु विदेसिएपछि ग्रामीण क्षेत्रमा कृषि कामदारको अभाव भएको छ । स्वदेशमा रोजगारी नपाएको भन्दै युवाहरु विदेसिने गरेपछि गाउँमा मजदुरको अभाव भएको हो । जसले गर्दा खेतीयोग्य जमिन बाँझो हुने क्रम बढेको छ ।
चियाखेती सुरु गरेका कृषकहरु दक्ष मजदुर नपाएकै कारण बर्सेनि लाखौं रूपैयाँ गुमाउँदै आएका छन् । तीन दशक अघिदेखि यहाँका कृषकले इलामको कन्यामबाट चियाको नर्सरी ल्याएर खेती सुरु गरेका थिए । यतिबेला चिया बगान झाडीमा परिणत भएको छ ।
चियाको बजारीकरण नहुँदा र चियामा सरकारको ध्यान नजाँदा समस्या हुँदै आएको चिया उत्पादक कृषक कृृष्णबहादुर बस्नेतको भनाइ छ ।
उद्योगहरूले समयमा भुक्तानी नदिने र बजारको राम्रो व्यवस्था नहुनाले पनि कृषकको लगानी बालुवामा पानीझैँ बनेको छ । चिया उद्योगसम्म हरियो चियापत्ती पुर्याउन भरपर्दो सडक नहुनु र दक्ष कामदार नपाउँदा चिया खेतीको लगानी खेर गइरहेको चिया कृषक भरत बस्नेतको गुनासो छ ।
तेह्रथुममा मात्रै ३८ सय रोपनीमा चिया खेती हुँदै आएको छ । चिया खेतीको महत्व नबुझ्दा कृषक निरुत्साहित भएको चिया तथा कफी बिकास बोर्ड तेह्रथुमका कर्मचारी चन्द्रप्रसाद बाँस्तोला बताउनुहुन्छ ।
सुरुमा आफूले खानका लागि मात्र चिया रोप्दै आएका कृषकले आम्दानीको राम्रो स्रोत हुने सम्भावना देखेपछि चिया खेती विस्तार गरेका थिए । यहाँका कृषकले १० रोपनीदेखि ८० रोपनी क्षेत्रफलमा चिया खेती गर्दै आएका छन् । इमेज खबरबाट