पाँचथर । कोरोना सङ्क्रमणका बिरामीहरू थप हुँदै गएपछि पाँचथर जिल्लाभर लागु भएको निषेधाज्ञा एक साताको लागि थप गरिएको छ ।

जिल्लामा गत वैशाख २७ गतेदेखि लागु भएको निषेधाज्ञा तेस्रो पटक थप गरी जेठ २४ गते राति १२ बजेसम्म थप कडाइका साथ लागु गरिएको पाँचथर जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा जिल्ला कोभिड नियन्त्रण व्यवस्थापन समितिका प्रमुख पुण्यप्रसाद ढकालले बताउनुभयो ।

समितिको सोमबार बसेको बैठकले यसअघि भन्दा निषेधाज्ञालाई थप कडा पार्दै औषधि पसलबाहेकका अन्य पसलहरू पूर्णरुपमा बन्द रहने र दूध तथा तरकारी पसलहरू बिहान ६ बजेदेखि ८ बजेसम्म दुई घण्टाको लागि मात्र खोल्ने दिने निर्णय गरेको बताइएको छ ।

कोरोना सङ्क्रमणका कारण पाँचथरमा ४ जनाको ज्यान गइसकेको छ भने ७२९ जनामा संक्रमण र २९३ जना निको भएका छन् । पाँचथर जिल्लामा सोमबार मात्रै ६५ जना संक्रमित थपिए ।