फुङ्लिङ । पाथीभरा याङवरक गाउँपालिकाले महिलालाई बाख्राको ‘पाठी उपहार’ दिन शुरुआत गरेको छ । महिलाको आयआर्जनमा विकास गर्नका लागि गाउँपालिकाले सो कार्यक्रम कार्यान्वयनमा ल्याएको हो ।

महिला लक्षित आयआर्जन तथा सीप विकास कार्यक्रममार्फत गाउँपालिकाभित्रका लक्षित महिललाई बाख्राको पाठी उपलब्ध गराएको गाउँपालिकाका पशु शाखा कार्यालय प्रमुख भीमलाल बयलकोटीले जानकारी दिनुभयो ।

विपन्न तथा लक्षित समुदायको आयआर्जन विकास गर्नका लागि गाउँपालिकाले छनोट गरेको महिलालाई पाठी उपलब्ध गराउने उहाँले बताउनुभयो ।

गाउँपालिको प्रत्येक वडामा दश जना विपन्न महिलालाई पाठी खरीद गर्नका लागि छ हजारका दरले ६० हजार र प्रत्येक वडामा बीउ बोका खरीद गर्न लागि रु १५ हजार पशु शाखा कार्यालयको कार्यक्रममार्फत पाठी उपलब्ध गएको पशु शाखाले जनाएको छ ।

गाउँपालिकामा आठ वडा रहेको छ । प्रत्येक वडामा दश वडा पाठी र बीउ बोका गरी ८० पाठी र आठ बोका वितरण हुने पशु शाखाले जनाएको छ ।

महिला तथा बालबालिका शाखा र गाउँपालिकाको संयुक्त कार्यक्रमअन्तर्गत महिलालाई लक्षित गरेर आवश्यकताअनुसार समूह गठन गरेर विभिन्न आयआर्जनको विकास गर्नका लागि भिन्न कार्यक्रम सञ्चालन गर्दै आएका उपाध्यक्ष रनमाया गुरुङले बताउनुभयो ।

महिलालाई जीविकोपार्जनसँगै व्यावसायिक बन्न प्रेरित गर्ने उद्देश्यले महिला लक्षित कार्यक्रमलाई निरन्तरता दिँदै आएको उहाँले जानकारी दिनुभयो ।

गाउँपालिकाभित्रका ३७० घरका महिलालाई पाठी उपहार उपलब्ध गराइसकेको जनाइएको छ । उहाँले भन्नुभयो, ‘महिलाहरुको सीप विकास र आयआर्जन विकास गर्नका लागि म निर्वाचित भएसँगै लागिपरेको छु ।’

समुदायको माग र आवश्यकताअनुसार पशु शाखा कार्यालयका प्राविधिक कर्मचारीहरुले समूह गठन गर्ने र आवश्यक परामर्श र सहजकर्ताको काम गर्दै आएको गाउँपालिकाका महिला तथा बालबालिका शाखाप्रमुख रामकला कार्कीले बताउनुभयो ।

विपन्न परिवार तथा लक्षित महिलालाई प्रत्यक्ष जीविकोपार्जन गर्नमा टेवा पुगेको उहाँले बताउनुभयो ।

अघिल्लो आवमा ३०० महिलालाई उन्नत जातको बाख्रा उपलब्ध गराइएको थियो । भने चालु आवमा ३७० महिलालाई पाठी उपलब्ध गराइएको थियो ।

महिलाहरु आयआर्जन तथा जीविकोपार्जन कार्यक्रममा चालु आवमा गाउँपालिकाले रु २० लाख विनियोजन गरेको गाउँपालिकाले जनाएको छ । आगामी आवको बजेटमा पनि कार्यक्रलाई निन्तरता दिने उपाध्यक्ष गुरुङले बताउनुभयो ।