इलाम । इलाममा अलैंचीको मूल्य निरन्तर उकालो लागिरहेको छ । विश्व बजारमा नेपाली अलैंचीको माग र मूल्य दुवै बढेको व्यवसायीहरुको भनाइ छ ।

कोरोनाका कारण गतवर्ष नेपाली अलैंची भारतहुँदै तेस्रो मुलुक निर्यात हुन सकेको थिएन । तर, यस वर्ष त्यो अवस्था नभएको इलामका अलैची ब्यबसायी कृष्ण पौडेलको भनाई छ ।

पौडेलका अनुसार अलैंची चलनचल्तीको प्रतिमन ३२ हजार रुपैयाँमा खरिद बिक्री भईरहेको छ । गत बर्ष अलैंचीको खपत हुने देशहरू कोभिडले प्रभावित हुँदा त्यसको असर नेपाली अलैंचीमा परेको थियो ।

अलैचीको मूल्य राम्रो पाएपछि किसान समेत खुसी भएका छन् । तर, यस बर्ष पनि गतसाल जस्तै मूल्य नपाइने डरले प्रायः धेरै किसानले यसअघि नै भएको अलैँची बिक्री गरिसकेका छन् ।

जिल्लामा गएको वर्ष १६ सय हेक्टर जग्गामा ५ लाख ७६ हजार मेट्रिक टन अलैची उत्पादन भएको सरकारी तथ्याङ्क छ । इलाम जिल्लामा अहिले रामसाई, गोलसाई, डम्बरसाई, जिर्मले र भार्लाङ्गे जातको अलैैँची खेती हुदै आएको छ ।