विराटनगर । नेपाल सरकारका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री राजकिशोर यादवले कालोबजारी र महँगी नियन्त्रणका लागि प्रशासनलाई सक्रियता बढाउन निर्देशन दिएका छन् ।

मन्त्री यादवले आइतबार विराटनगरमा आयोजित अन्तरक्रियात्मक कार्यक्रममा बजारमा भइरहेको कालोबजारी, महँगी नियन्त्रणलगायतको क्षेत्रमा तत्कालै कडाइ गर्न प्रशासनलाई निर्देशन दिएका हुन् ।

अन्तरक्रियामा सहभागी सिरहा, सप्तरी, सुनसरी, मोरङ्ग र झापाका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख तथा प्रदेश १ का डीआईजी तथा सम्बन्धित कर्मचारीहरुलाई मन्त्री यादवले आमजनतालाई सहज हुने गरी बजारतर्फ विशेष ध्यान दिन निर्देशन दिए ।

उनले लकडाउन तथा सम्भावित बाढी पहिरोलाई ध्यानमा राखी बजारमा हुनसक्ने कृत्रिम अभावतर्फ विशेष ध्यान दिन जोड दिए । मन्त्री यादवले उपभोक्ता हितलाई ध्यानमा राख्दै व्यापारी तथा कर्मचारीहरुलाई उच्च मनोबलका साथ काम गर्न पनि आग्रह गरे ।