फुङ्लिङ । ताप्लेजुङ जिल्लामा पछिल्लो समयमा युवापुस्ताको व्यावसायिक कफी खेतीतिर आकर्षण बढ्दै गएको छ ।

कफी खेतीबाट राम्रो आम्दानी लिन सकिने भएकाले बिस्तारै यसको खेतीतिर आकर्षण बढ्दै गएको हो । पछिल्लो समय कफीको बजार माग बढ्दै गएसँगै यसबाट राम्रो आम्दानीको सम्भावना देखेपछि किसानले व्यावसायिक रूपमै खेती सुरु गरेका हुन् ।

हाल आठराई त्रिवेणी गाउँपालिका ३ हाङ्पाङ र वडा नं ५ चाँगे तथा मैवाखोला गाउँपालिका १ ढुङ्गेसाँघुका किसानले व्यावसायिक रूपमा कफी खेती सुरु गरेका छन् । सुरुमा परीक्षण गर्दा नै कफी राम्ररी फस्टाएको र कफीका लागि उपयुक्त हावापानी र जमिन रहेको पाइएपछि स्थानीय किसानले व्यावसायिक खेती सुरु गरेको बताइएको छ ।

किसानका अनुसार अहिले धमाधम कफी खेती विस्तार हुन थालेको छ । ढुङ्गेसाँघुका किसान चन्द्र तामाङले हाल व्यावसायिक कफी खेती सुरु गर्नुभएको छ । चार वर्ष अघिदेखि कफीको बिरुवा रोप्न सुरु गरेर अहिलेसम्म करिब ४० रोपनी क्षेत्रफलमा खेती विस्तार गरेको तामाङले बताउनुभयो ।

उक्त क्षेत्रफलमा एक हजार ५०० बिरुवा रोपेको र सुरु सुरुमा रोपेको बोटमा फल लाग्न थालेको उहाँले बताउनुभयो । उहाँले यस वर्ष चार हजार किलोग्रामसम्म कफी उत्पादन हुने बताउनुभयो ।

ढुङ्गेसाँघुकै अर्का किसान ध्रुव वनेमले कफीको व्यावसायिक खेती सुरु गर्नुभएको छ । वनेमले १५० रोपनीभन्दा बढी क्षेत्रफलमा करिब दुई हजार ५०० बिरुवा लगाउनुभएको छ । उहाँको खेतीबाट पनि उत्पादन हुन थालेको र दुई हजार ५०० किलोग्रामसम्म उत्पादन हुने अनुमान लगाएको उहाँको भनाइ छ ।

तामाङ र वनेमसहित ढुङ्गेसाँघुका छ जना किसानले व्यावसायिक कफी खेती सुरु गरेका छन् । यस्तै आठराई त्रिवेणी ३ हाङ्पाङका किसान लक्ष्मीप्रसाद पोखरेलले पनि आफूले लगाएको कफी खेतीबाट उत्पादन हुन थालेको जानकारी दिनुभयो ।

सोही गाउँपालिकाको वडा नं ५ चाँगेका स्थानीय किसान घनू गौतमले पनि व्यावसायिक कफी खेती लगाउनुभएको छ । यसरी हाङ्पाङ र चाँगेमा दर्जनौँ किसानले व्यावसायिक रूपमा कफी खेती सुरु गरेको बताइएको छ ।

यता कफी खेतीबाट आम्दानी पनि हुन थालेको किसानले बताएका छन् । उत्पादित कफी अहिले प्रतिकिलोग्राम रु ८० ले बिक्री गर्दै आएको किसानको भनाइ छ । प्रशोधन गरेको कफी भने प्रतिकिलो रु ७०० का दरले बिक्री हुने हुँदा किसान आफैँले गाउँमै कफी प्रशोधन गर्ने व्यवस्थाका लागि जुट्दै आएको पनि बताएका छन् ।

हाल व्यावसायिक खेती सुरु भएको क्षेत्र ढुङ्गेसाँघु, चाँगे र हाङ्पाङबाट करिब १० हजार किलोग्रामसम्म कफी उत्पादन हुन थालेको ढुङ्गेसाँघुका किसान तामाङले जानकारी दिनुभयो ।