सुनसरी । भ्रष्ट्राचारविरुद्ध उत्रिएका वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका चिकित्सक र कर्मचारीहरूले भत्किएको सकड मर्मत गरेका छन् ।

प्रतिष्ठानका पदाधिकारीहरूले वर्षौंदेखि भत्किएको सडक निर्माण नगरेको भन्दै बुधबार चिकित्सक र कर्मचारीहरुले आफैँ मर्मत गरेका हुन् ।

प्रतिष्ठानमा आर्थिक अनियमितता (भ्रष्टाचार) को उच्च स्तरीय समिति गठन गरी छानविनको माग गर्दै आन्दोलनमा उत्रिएका चिकित्सकहरूले बुधबार सडकका खाल्डाखुल्डी पुरेका छन् । गिटी बालुवा र सिमेन्टको कङ्क्रिट बनाएर चिकित्सकहरूले प्रतिष्ठानस्थित भत्किएको सडकको मर्मत गरे ।

वीपी प्रतिष्ठानका पदाधिकारीहरू प्रतिष्ठान सुधार गर्न भन्दा पनि आर्थिक अनियमितताका घटनामा मुछिएर प्रतिष्ठानलाई धरासायी बनाएको चिकित्सक र कर्मचारीहरू नौ दिनदेखि आन्दोलनमा उत्रिएका हुन् ।

प्रतिष्ठानका विभिन्न उपकरण, औषधि खरिद गर्दा प्रतिष्ठानका पदाधिकारीहरूले भष्ट्रचार गरेकाले उच्चस्तरीय छानविन गरी दोषीउपर कारबाही गरी प्रतिष्ठानको गरिमा जोगाउन सरकारसँग माग गरेका छन् ।