इलाम । इलाम नगरपालिकाको नवौं नगरसभाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित गरेको छ ।

बुधबार शुरु भएको नगरसभामा नगरपालिकाकी उपप्रमुख सुशीला नेम्बाङले पेश गरेको नीति तथा कार्यक्रम नगरसभाले पारित गरेको हो ।

इलाम नगरपालिकाको नीति तथा कार्यक्रममा केही नयाँ कार्यक्रमहरु समावेश गरिए पनि उल्लेख्य नयाँ कार्यक्रमहरु छैनन् । अधिकांश कार्यक्रमहरु विगतकै निरन्तरता दिइएको देखिन्छ ।

नगरको आर्थिक विकासका लागि कृषिलाई समृद्धिको प्रमुख आधार बनाउन नीति तथा कार्यक्रममा नगरमा ‘एक वडा १० कृषि स्नातक’ नारा कार्यक्रम अघि बढाइने उल्लेख छ ।

यसरी पूवाखोलामा बञ्जी जम्प निर्माण थालिने पनि उल्लेख छ । नगरका सुकुम्बासीहरुलाई जमिनको मालिक बनाउका लागि सहयोग गर्ने पनि नीति तथा कार्यक्रममा उल्लेख छ ।

त्यसरी नै कृषि क्याम्पस सञ्चालन गर्ने, एक वडा एक स्वास्थ्य संस्था निर्माण गरी स्वास्थ्य सेवालाई प्रभावकारी बनाउने पनि नीति तथा कार्यक्रममा उल्लेख छ । यसरीनै करको दायरा फराकिलो बनाइँदै लगिने पनि जनाइएको छ ।