बिर्तामोड । सरकारले बजेट भाषणमार्फत् छुटमा खाद्यान्न बिक्री गर्ने घोषणा गरेसँगै झापामा ४१६ क्विन्टल चामल बिक्री गरिएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड झापाले जेठ २१ गतेदेखि चामल बिक्री गर्न सुरु गरेको थियो ।
बिर्तामोडस्थित सो कार्यालयले असार ७ गतेसम्म चामल बिक्री गर्दा १ हजार ६३३ परिवार लाभान्वित भए । २६ लाख १६ हजार रुपैयाँ बराबरको चामल बिक्री गरेको कार्यालय प्रमुख देवेन्द्र राईले बताए । २० प्रतिशत छुटमा बिक्री गरिएको चामलबाट ५ लाख, २३ हजार रुपैयाँ छुट गरिएको थियो ।
कार्यालयले सोना मन्सुली र स्टिम जिरा मसिनो चामल बिक्री गरेको जनाएको छ । वास्तविक मूल्य १ हजार ४१० रुपैयाँ रहेको प्रति ३० केजी दरको अरुवा सोना मन्सुली चामल १ हजार १२८ र १ हजार ६२५ रुपैयाँ वास्तविक मूल्य रहेको २५ केजी दरको स्टिम जिरा मसिनो चामल १ हजार तीन सयमा बिक्री गरेको थियो ।
निषेधाज्ञामा चामल खरिदमा समस्या नहोस् भन्दै सहुलियतमा चामल बिक्री गरेको बताइएको छ ।