झापा । जंगली हात्तीको आक्रमणबाट मेचीनगर नगरपालिका ३ की एक महिला घाइते भएकी छिन् । घाइते हुनेमा ५५ बर्षीया डुकीसरी मेचे रहेकी छन् ।

डिभिजन वन कार्यालय झापाका अनुसार घर नजिकै रहेको निन्दा खोलामा नुहाउन जाने क्रममा उनलाई हात्तीले आक्रमण गर्दा गम्भीर घाइते भएकी थिइन् । घाइते मेचेको विर्तामोडस्थित विएण्डसी अस्पतालमा उपचार भइरहेको छ ।

गएराति बाहुनडाँगीमा लगाइएको विद्युतीय तारबार भत्काएर भारतबाट १६ वटा हात्ती नेपाल छिरेको डिभिजन वन कार्यालय झापाका प्रमुख युवराज मास्केले बताए । तिनै हात्तीमध्ये एकको आक्रमणमा परी उनी घाइते भएकी हुन् ।

यसैबीच, मेचीनगर नगरपालिका २ देवीगञ्जस्थित स्थानीयको चिया बगानमा जंगली हात्ती छिरेपछि दिउँसै गाउँलेहरु त्रसित बनेका छन् ।

वस्तीको बीचमा रहेको स्थानीय हरि चम्लागाई र नरेन्द्र न्यौपानेको चिया बगानमा विहानैदेखि दुईवटा हात्ती छिरेपछि गाउँले त्रसित बनेका हुन् ।

मानवीय क्षति हुन नदिनका लागि डिभिजन वन कार्यालयका सुवेदार रामप्रसाद यादवको नेतृत्वमा टोली खटाइएको छ । हात्तीलाई गाउँ पस्न नदिन वनको टोलीसँगै सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयवासीले गस्ती गरिरहेको उनले बताए ।

गए राति विद्युतीय तारवार भत्काएर बाहुनडाँगी छिरेका १६ वटा हात्तीमध्ये १४ वटा मेचीनगर ३ स्थित बहुवन सामुदायिक वन क्षेत्रमा रहेका छन् भने दुई वटा हात्ती बगान छिरेका हुन् । दिनभर चियाबगानमा सुरक्षा दिएर घेराहालिएको हात्तीलाई साँझ परेपछि भारततिरै सुरक्षित तरिकाले लखेट्ने योजना रहेको छ उनको भनाई छ ।

विगत एक महिनादेखि भारतबाट मेची नदी तरेर दैनिक एक सयदेखि १५० वटाको समूहमा हुल बाँधेर आउने हात्ती पहिलोपटक विद्युतीय तारबार भत्काएर गाउँ छिरेको स्थानीय हात्ती संरक्षणकर्मी शंकर लुईटेलले बताए ।

बाहुनडाँगीमा १८ किलोमिटर विद्युतीय तारबार २०७२ सालमा प्रकृति संरक्षण कोषले गरेको थियो । तारबारको बेलैमा मर्मत सम्भार नहुँदा भारतबाट आउने हात्तीले भत्काएर नेपाल छिर्न थालेका छन् ।