झापा । लगातारको झरीले देशका धेरै ठाउँका नदी तथा खोलामा पानीको सतह बढ्दै गएको छ।

आज कोशी, नारायणीका सहायक नदी तथा पूर्वी राप्ती र कन्काई लगायत नदीमा बहाव बढ्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । यस्तै, कमला, वाग्मती लगायत नदीमा बहाव सतर्कता तह पार गरी खतरा तहसम्म पुग्न सक्ने पूर्वानुमान रहेकाले तटीय क्षेत्र तथा डुबान भइरहने क्षेत्रहरूमा विशेष सावधानी अपनाउन अनुरोध गरिएको छ ।

आज कर्णाली, महाकाली र यसका सहायक नदीमा बहाव सामान्य बढ्ने छ । भोटेकोशी, सुनकोशी लगायतका नदी तथा त्रिशूली, बुढीगण्डकी, कालीगण्डकी, मर्स्याङ्दी लगायत नारायणीका सहायक नदीमा पनि बहाव बढ्ने र केहीमा सतर्कता तह आसपाससम्म पुग्ने अनुमान छ ।

यस्तै, प्रदेश १ को इलाम, झापा, मोरङ, सुनसरी, पाँचथर, उदयपुर, धनकुटा, भोजपुर, तेह्रथुम, ओखलढुंगा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, प्रदेश २ को बारा, पर्सा, रौतहट, सर्लाही, महोत्तरी, धनकुटा, सिराहा, सप्तरी, बागमती प्रदेशको काठमाडौ, धादिङ, मकवानपुर, चितवन,सिन्धुली, नुवाकोट, रसुवा, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, काभ्रेपलाञ्चोक, गण्डकी प्रदेशको गोरखा, लमजुङ, तनहुँ, कास्की, स्याङ्जा, म्याग्दी, पर्वत, बागलुङ, नवलपुर र लुम्बिनी प्रदेशको पाल्पा, गुल्मी, प्युठान, अर्घाखाँची, रोल्पा, दाङ र आसपास जिल्ला भई बहने ससाना नदी जलाधारमा बहाव केही बढ्ने र केहीमा आकस्मिक बाढी आउन सक्ने सम्भावना रहेको छ ।