मोरङ । विराटनगरका कोरोनापीडित पत्रकारहरुले बीमा कम्पनीलाई ज्ञापनपत्र बुझाएका छन् । एक हप्ताभित्र कोरोना बीमाको रकम भुक्तानी गर्न माग गर्दै उनीहरुले ज्ञापनपत्र बुझाएका हुन् ।
कोरोना बीमा वापत दाबी गरिएको रकम एक हप्ताभित्र भुक्तानी गर्न माग गर्दै विराटनगरस्थित अजोड इन्स्युरेन्स लि. का प्रबन्धक केदारबहादुर खत्री समक्ष बिमाबाट रकम नपाएका १९ जना पत्रकारहरुको टोलीले ज्ञापनपत्र बुझाएका छन् ।
उनीहरुले संक्रमित भई बीमा दाबी गरेको एक महिनाभित्र भुक्तानी दिने भनि गरेको प्रतिवद्धता विपरित ११ महिना बितिसक्दा पनि भुक्तानी नदिएको बताए ।
‘तपाईंहरूले नेपाल सरकारको घोषित कार्यक्रम कार्यान्वयन गर्नुभएको हो । हामीले तपाईंहरुले तोकेको प्रिमियम तिरेर बीमा गरेका हौं । तपाईहरुले हामीसँग लिखित सम्झौता गर्नुभएको छ,’ ज्ञापनपत्रमा उल्लेख छ, ‘तर, हामीले पाउनुपर्ने भुक्तानी अझै पाएका छैनौं । हामीले गरेको बीमा दाबीको प्रक्रिया कहाँ पुगेको छ र के हुँदैछ ? भन्ने अन्यौलपूर्ण अवस्था छ ।’
पत्रकारहरुले तीन दिनभित्र लिखित जानकारी दिन र एक हप्ताभित्र दाबी रकम भुक्तानी गर्न माग समेत गरेका छन् । आफुहरुको माग सम्बोधन नभए सम्पूर्ण पीडित बिमितहरुलाई संगठित गरेर संघर्ष गर्ने उनीहरुको चेतावनी छ ।
‘तीन दिनभित्र लिखित जानकारी दिन र एक हप्ताभित्रमा दाबी रकम भुक्तानी गर्न अनुरोध गर्दछौं’, ज्ञापनपत्रमा भनिएको छ, ‘अन्यथा हामी सम्पूर्ण पीडित बिमितलाई संगठित गरी यस कम्पनीको विरुद्धमा चरणबद्ध रुपमा कानूनी र अन्य खालका संघर्षमा उत्रने जानकारी गराउँदछौं ।’
पत्रकारहरुले उक्त ज्ञापनपत्र जिल्ला प्रशासन कार्यालय मोरङ, बीमा समिति काठमाडौं र नेपाल पत्रकार महासंघ केन्द्र, प्रदेश र जिल्ला समितिलाई बोधार्थ पनि दिएका छन् ।