जितेन्द्र भण्डारी,
पाँचथर । कोरोना महामारीका बीच पनि पाँचथरमा धमाधम रोपाइँ भइरहेको छ । मानो छरेर मुरी उब्जाउने समय भएकाले पनि यहाँका किसानलाई असारे चटारो छ ।
कोरोनाको संक्रमणदर अहिले पनि पाँचथरमा ५० प्रतिशत कायमै छ । कोरोनाकै कारण अहिले पनि हप्तामा ३ देखि ४ जना कोरोना संक्रमितको मृत्यु भइरहेको छ । यस्तो महामारीको समय भए पनि कृषकहरुलाई भने असारे चटारोले च्यापेको छ ।
अहिले यहाँका कृषकहरुलाई खेतमा धान रोप्न भ्याइनभ्याई छ । धान नरोपौँ भने भोलि खानाको लागि समस्या छ, त्यहीँ कारणले रोप्नै पर्छ । मानिसहरुको जमघट नहुनु भन्ने कुरा छ तर हुन वाध्य छौँ, अब मास्क लगाउनु भनिएको छ, मास्कको पनि उपलब्धता छैन, वाध्य भएर जोखिम मोल्दै भए पनि धान रोप्न वाध्य रहेको फिदिमका कृषक भोला श्रेष्ठ बताउनुहुन्छ ।
समयमै मनसुन सक्रिय भएको हुँदा अहिले जिल्लामा २७ प्रतिशत जति धान रोपाइँ सकिएको कृषि ज्ञान केन्द्र पाँचथरले जनाएको छ । गतवर्ष यो समयमा २० प्रतिशतको हाराहारीमा धान रोपिए पनि यसवर्ष समयमै मनसुन सक्रिय भएको हुँदा अहिले सम्ममा २७ प्रतिशत धान रोपाइँ सकिएको कृषि ज्ञान केन्द्र पाँचथरका प्रमुख सागर विष्टले बताउनुभयो ।

जिल्लामा ९ हजार हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको छ । यो बर्ष भने कृषकहरुलाई धान रोपाइँमा खासै समस्या देखिएको छैन । रासायनिक मलको समस्या देखिए पनि अहिले भने मलको उपलब्धता रहेको कृषि ज्ञान केन्द्र पाँचथरले जनाएको छ ।
सबै कृषकहरुसँग मास्क उपलब्धता छैन, तर कोरोनाको जोखिम बहन गर्दे भए पनि जमघटका बाबुजुत धान खेती गर्नुपरेको फिदिम १ का कृषक कृति लामिछाने बताउनुहुन्छ ।
रासायनिक मल कृषकहरुलाई समयमै उपलब्ध हुन सकेको खण्डमा र धानबालीमा रोग र कीराको प्रकोप कम भएमा गत वर्षको तुलनामा ५ देखि ७ प्रतिशत धान उत्पादन वढ्न सक्ने कृषि ज्ञान केन्द्र पाँचथरका प्रमुख विष्ट बताउनुहुन्छ ।
कोरोना महामारीको वीचमा पनि यस वर्ष समयमै मनसुन सक्रिय भएको हुँदा कृषकहरुलाई धान रोपाइँमा सहज भएको छ । समयमै कषकहरुले मल पाएर रोग र कीराको प्रकोप देखिएन भने धान उत्पादन समेत बढ्न सक्छ । इमेज खबरबाट