बिर्तामोड । बिर्तामोड नगरपालिका वडा नम्बर ९ का विपन्न दलितहरुलाई बंगुरका पाठा वितरण गरिएको छ ।

सोमबार दलित जागरण अभियान केन्द्र बिर्तामोडले आयोजना गरेको एक कार्यक्रमका बीच नगरप्रमुख ध्रुवकुमार शिवाकोटी र वडाध्यक्ष पवित्रा पाठकले उनीहरुलाई वंगुरका पाठा वितरण गरेका हुन् ।

बिर्तामोड नगरपालिका वडा नम्बर ९ को २ लाख ५० हजार रुपैयाँको आर्थिक सहयोगमा बंगुरपालन कार्यक्रमअन्तर्गत ४० जना विपन्न दलित परिवारलाई पाठा वितरण गरिएको वडाध्यक्ष पाठकले बताइन् ।

कार्यक्रमका प्रमुख अतिथि नगरप्रमुख शिवाकोटीले वंगुरपालनबाट राम्रो लाभ लिन सकिने भन्दै पालनपोषणमा ध्यान दिन आग्रह गरे । उनले बंगुरपालन कार्यक्रमलाई थप प्रभावकारी बनाउन वितरण गरिएका वंगुरहरुको बिमा र बीउको लागि भाले बंगुर खरिद गरिदिने पनि बताए ।

कृषिमा आत्मनिर्भर बनाउँदै विपन्न दलित समुदायको आर्थिक स्तर बृद्धि गर्ने नगरपालिकाको उद्देश्य रहेको उनको भनाई थियो ।

दलित जागरण अभियान केन्द्रका अध्यक्ष छविलाल विश्वकर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नगरप्रमुख शिवाकोटी, बिर्तामोड ९ की वडाध्यक्ष पाठक, नेकपा माओवादी केन्द्र बिर्तामोडका अध्यक्ष मोहन सुव्वा, दलित जागरण अभियान केन्द्रका उपाध्यक्ष लक्ष्मी मोते, सचिव गोपाल लकान्द्री, सहसचिव सुमन त्रिखत्री, कार्यपालिका सदस्य संगीता शिवा, वडा नम्बर ९ का वडा सदस्य बालकृष्ण कार्कीलगायतको उपस्थिति रहेको थियो ।

दलित जागरण अभियान केन्द्रले बंगुरपालनको अनुगमनको लागि खेम नेपालीको संयोजकत्वमा समिति गठन गरेको छ ।बिर्तामोड नगरपालिकाले विपन्न दलित परिवारलाई वार्षिक २२० वटाभन्दा बढी बंगुरका पाठा वितरण गर्दै आएको जनाइएको छ ।