बिर्तामोड । नेपाल उद्योग वाणिज्य महासंघले झापा बिर्तामोडका युवा व्यवसायी विनोद बस्नेतलाई महासंघ मातहतको द्विराष्ट्रिय एवम् गैर आवासीय नेपाली समन्वय फोरमको सदस्यमा मनोनित गरेको छ ।

महासंघका अध्यक्ष शेखर गोल्छाले मंगलबार बस्नेतलाई फोरमको आमन्त्रित सदस्यमा मनोनित गरेको जनाएका छन् । महासंघ अन्तर्गत देशबन्धु बस्नेत (अजित)को सभापतित्वमा द्विराष्ट्रिय एवम् गैरआवासीय नेपाली समन्वय फोरमको समिति बनेको हो ।

‘महासंघलाई सशक्त रुपमा अगाडि बढाउने कार्यमा यहाँ सम्मिलित फोरमले महत्वपूर्ण योगदान पुर्याउने कुरामा विश्वस्त छौं’, अध्यक्ष गोल्छाले बस्नेतलाई सदस्यमा मनोनित गरेको पत्र प्रदान गर्दै भनेका छन्, ‘फोरमलाई क्रियाशील बनाउने कार्यमा यहाँको पूर्ण सहयोग हुने कुरामा म विश्वस्त छु ।’

फोरमको सदस्यमा मनोनित बस्नेत सयपत्री टे«डलिङ्क (यामाहा गाडीको आधिकारिक बिक्रेता) का प्रबन्ध निर्देशक छन् । उनी व्यावसायिक तथा सामाजिक क्षेत्रमा क्रियाशील छन् । नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं १ कार्यसमिति सदस्य, झापा गोल्डकपका अध्यक्ष, एकका लागि एक अभियानका सहसंयोजक समेत रहेका बस्नेत मेची पेट्रोलियम डिलर्स एसोसिएसनका महासचिव समेत रहेका छन् ।