इलाम । इलामका सञ्चारकर्मी तथा माङसेबुड रेडियोका स्टेशन मेनेजर सुमन लावतीलाई एकैदिन पितृ र मातृ शोक परेको छ ।
माङसेबुङ गाउँपालिका वडा नं ५ का सञ्चारकर्मी लावतीका ७९ वर्षीय बाबु टेकबहादुर लावती र ७३ वर्षीया आमा लक्षीहाङमा लावतीको एकैदिन आज कोरोना संक्रमणबाट मृत्यु भएको हो ।
टेकबहादुरको आज (विहीबार) विहान ५ बजे र लक्षीहाङमाको दिउँसो साढे ३ बजे निधन भएको स्थानीय पत्रकार काकीराम लावतीले बताए । सञ्चारकर्मी लावतीको परिवारका ७ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
संक्रमितमध्ये आज दुई जनाको निधन भएको हो । एकै परिवारका दुईको निधन भएसँगै गाउँमा निकै सन्त्रास फैलिएको छ ।
उनीहरु विगत ५ दिनदेखि कोरोना संक्रमित भएर होम आइसोलेसनमा बस्दै आएका थिए । मृतक दम्पतीका दुई छोरा, एक बुहारी र दुई नाती समेत कोरोना संक्रमित छन् । उनीहरुको अवस्था भने सामान्य रहेको छ ।