पुष्प खड्का,
झापा । ‘मेमोरी किङ्ग’ को रुपमा परिचित झापाली युवा अर्पण शर्मा कट्टेलले नयाँ विश्व रेकर्ड बनाएको घोषणा गरेका छन् । शर्माले एक मिनेटमा ८३ वटा बस्तुको नाम स्मरण गरेर नयाँ विश्व रेकर्ड बनाएको बताएका हुन् ।

आज झापाको सिद्धार्थ होटल ग्राण्ड सिटीमा पत्रकार सम्मेलन आयोजना गरि शर्माले नयाँ विश्व रेकर्ड कायम गरेको जानकारी दिए। शर्माले यसअघि २६ सेप्टेम्बर २०१५ मा १ मिनेटमा ४२ वटा बस्तुको नाम स्मरण गरेर ‘लङ्गेस्ट अब्जेक्ट्स मेमोराइज्ड इन वान मिनेट’ विधामा गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम लेखाएका थिए ।

त्यसपछि सोही विधामा १९ डिसेम्बर २०२० मा भारत हैदराबादमा डाक्टर नबल पजियारले ५४ वटा बस्तुको नाम स्मरण गरेर शर्माको रेकर्ड तोडेका थिए । पजियारको रेकर्ड तोडेर पुनः आफ्नै नाममा नयाँ रेकर्ड कायम गराउन शर्माले ८३ वटा बस्तुको नाम स्मरण गरेको जानकारी दिए ।

शर्मा आफूले कायम गरेको पछिल्लो विश्व रेकर्डलाई गिनिज बुकमा लेखाउने प्रक्रियामा रहेको जानकारी दिए । शर्माले पत्रकार सम्मेलनमा आफू ८३ वटा बस्तुको नाम स्मरण गरेको कार्यक्रमको फोटो तथा भिडियो प्रस्तुत गरेका थिए । पछिल्लो समय शर्माले विभिन्न पेशा तथा ब्यवसायमा आवद्ध ब्यक्तिहरुलाई स्मरण शक्ति सम्बन्धी सेमिनार गर्ने गरेका छन ।

उनले स्वदेश तथा बिदेशमा मेडिटेसन तथा ब्रेन ट्रेनरको रुपमा समेत काम गरिरहेका छन् । २०४६ माघ २३ मा जन्मिएका शर्मा झापा भद्रपुर ८ का स्थायीबासी हुन् । बहुप्रतिभाशाली शर्मा राष्ट्रिय युवा पुरस्कार ०७२ बाट सम्मानित भइसकेका छन् ।