सुनसरी । सुनसरीमा छुट्टा छुट्टै स्थानमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका र वराहक्षेत्र नगरपालिकामा करेन्ट लागेर २ जनाको ज्यान गएको हो ।

वराहक्षेत्र २ का २९ वर्षीय कृष्ण घिमिरेको शनिवार दिउँसो करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ । आफ्नै घर वरिपरि हात्ती रोक्नका लागी लगाइएको तारमा छुँदा अचानक करेन्ट लागेर घाइते भएका थिए ।

घाइते घिमिरेको उपचारको क्रममा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

यसैगरी, इटहरी १७ का मनोज खत्रीको पनि करेन्ट लागेर मृत्यु भएको छ ।

शनिवार साँझ ६ बजे घर नजिकै रहेको माछा पोखरीमा करेन्ट लगाएर माछा मार्ने क्रममा अचानक आफैलाई करेन्ट लागेर घाइते भएका थिए ।

घाइते खत्रीको विराट टिचिङ हस्पिटल, विराटनगरमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।