बिर्तामोड । झापाको अर्जुनधारा नगरपालिकास्थित शनिश्चरे बजार एक साताका लागि बन्द गरिएको छ ।

अर्जुनधारा वडा नं ८ को शनिश्चरे बजार क्षेत्रमा कोरोना भाइरसको संक्रमण उच्च जोखिममा परेको भन्दै वडा कार्यालयले एक साताको लागि बन्द गरेको हो । वडा कार्यालयको सूचनाअनुसार साउन ८ गते राति १२ बजेदेखि १५ गतेसम्मका लागि बन्द गरिएको जनाइएको छ ।

सूचनाअनुसार शनिश्चरे बजार र आसपासका क्षेत्र पूर्णरुपमा बन्द गरिने जनाएइको छ । बजार क्षेत्र बन्द गर्नेबारे लिखितरुपमा नगरपालिकालाई जानकारी आएको मेयर हरिकुमार रानाले बताए ।

बजार व्यवस्थापन समिति, च्याम्वर्स अफ कमर्श, उधोग वाणिज्य संघ, टोल विकास समिति समेतको छलफल पछि नागरिकको जीवन रक्षाका लागि बजार क्षेत्र बन्द गर्ने निर्णय भएको वडाध्यक्ष गोपीचन्द्र गौतमले जानकारी दिए ।

यो निर्णयसँगै ८ नम्बर वडामा पर्ने शनिश्चरे बजार क्षेत्रमात्र बन्द रहनेछ भने नगरपालिकाका अन्य वडा तथा बजार भने सीसीएमसीको निर्णयअनुसार नै रहने बताइएको छ ।

अहिले अर्जुनधारा क्षेत्रमा १४ सयभन्दा बढीमा संक्रमण भएको छ भने दोस्रो लहरमा २६ जनाले ज्यान गुमाएका छन् ।