झापा । कोभिड १९ विरुद्ध सञ्चालन भइरहेको खोप लगाउने कार्यक्रम अर्जुनधारा नगरपालिकामा स्थगित भएको छ ।

नगरपालिकाले बिहीबार अपराह्न एक सूचना जारी गर्दै खोप कार्यक्रम स्थगन गरिएको जनाएको हो । ‘साउन १५ र १६ गते निर्धारित लक्षित समूहलाई लगाइने भनिएको खोप भेरोसिल भ्याक्सिन अभावका कारण स्थगित गरिएको छ’, सूचनामा भनिएको छ ।

नगरपालिकाले उक्त दिन अग्रपंक्तिमा खटिने बैंक तथा वित्तीय संस्थामा कार्यरत कर्मचारी, शिक्षक, सरकारी कार्यालयका कर्मचारी र सार्वजनिक सवारी चालकलाई खोप लगाउने निर्णय गरेको थियो । तर, भ्याक्सिन अभावका कारण स्थगन गर्नु परेको नगरपालिकाका मेयर हरिकुमार रानाले बताए ।

तर, ५५ वर्षभन्दा माथिका नागरिकलाई खोप लगाउनका लागि शनिश्चरे अस्पतालबाट वितरित कुपनका आधारमा खोप लगाइने सूचनामा जनाइएको छ । निर्धारित लक्षित समूहलाई भ्याक्सिन उपलब्ध भएपछि खोप लगाइने पनि मेयर रानाले बताए ।

यसपटक अर्जुनधारामा ४ हजार भ्याक्सिन उपलब्ध भएको नगर स्वास्थ्य कार्यालयले जनाएको छ । तर, ७ हजार ५०० भ्याक्सिन आवश्यक पर्ने मेयर रानाको भनाइ छ ।

खोपको पहिलो दिन अर्जुनधारामा २ हजार २७५ जनाले खोप लगाएको स्वास्थ्य शाखाले जनाएको छ ।