बिर्तामोड । सरकारले ५५ वर्ष उमेरमाथिका नागरिकका लागि पठाएको ‘भेरोसिल भ्याक्सिन’ खोप केन्द्रमा अभाव भइरहेको बेला झापाको बिर्तामोडमा भने होटलमा लगेर राखेको फेला परेको छ ।

बिर्तामोडको होटल टाइमलेसमा १ सय भायल खोप फेला परेको हो । बिर्तामोड नगरपालिको स्वास्थ्य शाखाले २ सय जनालाई पुग्ने खोप होटलमा लुकाएको आरोप स्थानीयले लगाएका छन् ।

बिर्तामोडका केही युवाहरुले बिर्तामोड नगर स्वास्थ्य शाखाका कोभिड फोकल पर्सन ओम खड्काले होटलमा खोप लुकाएको आरोप लगाए ।

होटलमा खोप फेला परेपछि स्थानीय युवा पोषराज कटुवालले सामाजिक सञ्जालमा प्रत्यक्ष प्रशारण गरेका थिए । अहिले उक्त भिडियो भाइरल बनेको छ । भिडियोमा कोभिड फोकल पर्सन खड्का र १ सय भायल खोपसँगै भेटेपछि युवाहरुले आक्रोश व्यक्त गरेको देख्न सकिन्छ ।

यसैबीच, स्वास्थ्य शाखाका प्रमुख तुलसी पोखरेलले होटलमा खोप पुगेको विषयमा आफू जानकार नभएको स्थानीय सञ्चालमाध्यमसँग भनेका छन् । उनले मिडियासँग भने, ‘होटलमा खोप कसरी पुग्यो मलाई जानकारी छैन । खड्काजीहरु सँगै बुझ्नुहोस् ।’ उनका अनुसार घरायसी र होटलमा राखिने फ्रिजमा यो भ्याक्सिन राख्न मिल्दैन ।

फोकल पर्सन खड्काले जिल्लाको गाडीले होटलमा खोप ल्याएर छोडेको भन्दै बचाउ गरेका छन् । उनले आफूहरु खाना खान त्यहि होटल जाने भएकाले त्यहिबाट खोप रिसिभ गर्नलाई त्यहाँ छोड्न भनेको बताएका छन् ।

उनले खोप लुकाएको विषय सत्य नभएको दावी गरेका छन् । उनले आफूहरु फिल्डमा भएका कारण जिल्लाको गाडीलाई होटलमा खोप छोडिदिन आग्रह गरेको सुनाए । खाना खाएर त्यहिबाट खोप लिएर जाने तयारी भएको थियो । बिर्तामोडमा खोप अभाव भएपछि ब्याकअपका लागि खोप मागिएको उनकाे दाबी छ ।

अर्जुनधारा, बुद्धशान्ति क्षेत्रबाट खोप ल्याएर जिल्लाको गाडीले खोप छोडेको खड्काको भनाई छ । तर, अर्जुनधारामा खोप अभाव भएपछि हिजै एक सूचना जारी गर्दै नगरपालिकाले खोप कार्यक्रम स्थगित भएको जानकारी गराएको थियो ।

घटना बाहिरिएपछि होटलमा प्रहरीका बाक्लो उपस्थिति थियो भने सो खोप अहिले इलाका प्रहरी कार्यालय अनारमनीको टोलीले लगेको छ ।