होटलमा खोप फेला परेको खबर पाएपछि होटलमा स्थानीयको भिडसँगै प्रहरीको उपस्थिति ।

झापा । विर्तामोडको एक होटलमा लुकाइएको २ सय डोज खोप प्रकरणमा बिर्तामोड नगरपालिकाका कोभिड फोकल पर्सन खोम खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बिर्तामोड नगरपालिकाका स्वास्थ्य शाखाका फोकल पर्सन खड्काले शुक्रबार टाइमलेस मुभमेन्ट होटलमा खोप लुकाएको थाहा पाएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

प्रहरीले होटलबाट २ सय जनालाई पुग्ने सय भाइल खोप बरामद गरेको प्रहरीले जनाएको छ । फोकल पर्सन खड्कालाई समेत अनुसन्धानका लागि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी राकेश थापाले जनाए ।

कुन उद्देश्यले होटलमा खोप लुकाइएको हो भन्नेबारे अनुसन्धान सुरु भएको उनले बताए ।