इलाम । इलाममा साउन २५ गतेसम्म निषेधाज्ञा थप गरिएको छ । प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर खड्काले शुक्रवार आदेश जारी गर्दै निषेधाज्ञा थप गर्नुभएको हो ।

साउन १५ गते मध्यराति १२ बजेबाट लागु हुने गरी साउन २५ गते मध्यराति १२ बजेसम्म जिल्ला भरी लागु हुने गरी निषेधाज्ञा लागु गरिएको छ । कोभिड १९ सङ्कट व्यवस्थापन अध्यादेश २०७८ अन्तर्गत निषेधाज्ञा गरिएको जनाइएको छ ।

यसअघि जारी गरिएको निषेधाज्ञा आदेश यथावत् रहने जनाइएको छ । कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि स्थानीय तहहरूको अनुरोध तथा नागरिक स्तरबाट अनुरोध गर्न थालिएपछि गत साउन १० गतेदेखि आज बेलुकी १२ बजेसम्म लागु हुने गरी निषेधाज्ञामा थप कडाइ गरिएको थियो ।

निषेधाज्ञामा जिल्लाका प्रमुख बजारहरू बन्द रहने, तरकारी, खाद्यान्न तथा फलफूल पसल बिहान ११ बजेसम्म मात्र खुल्ला राख्ने जनाइएको छ ।