मेचीनगर । पूर्वोत्तर झापाको बाहुनडाँगीमा विद्युतीय तारबार नाघेर भारतबाट भित्रिएको जंगली हात्तीले धानखेतीमा क्षति पुर्याउन थालेको छ ।
बिगतमा पाकेको धान, मकै, कोदो लगायतका बाली खाने हात्तीले अहिले लहलह हुर्किदै गरेको धानको बोट नै खान थालेको मेचीनगर नगरपालिका वडा नं ४ का शंकर लुइँटेलले बताए ।
उनका अनुसार आज विहान आएको एउटा हात्तीले स्थानीय सन्तोष न्यौपाने र भैरवबहादुर गौतमको धानखेत खाएर नष्ट गरेको हो । हात्तीले भर्खरै सरेको धानको रोपा सुँढले तानेर गुबो खाने गरेको छ ।
कहिले हुँल बाँधेर र कहिले एक्लै दोक्लै आउने हात्तीले साँझदेखि विहानसम्म बाली खाएर क्षति पुर्याउन थालेपछि स्थानीय किसान चिन्तित बनेका छन् ।
पीडित भैरबबहादुर गौतमले चार कठ्ठा खेतको रोपो धान एकै मेलोमा खाएर बर्बाद गरिदिएको बताए । उनले हात्ती खेद्ने संयन्त्र नहुँदा किसान मारमा परेको गुनासो गरे ।
झापाको पूर्वोत्तर क्षेत्र बाहुनडाँगीमा भारतबाट दैनिकजसो जंगली हात्ती गाउँमा पस्ने गरेको छ । सरकारले सीमा क्षेत्रमा विद्युतीय तारबार लगाए तापनि तारबार भत्किएका ठाउँबाट हात्ती छिर्ने गरेको छ ।
हात्ती र कोरोनाको आतंक एकैपटक आइलागेको कारण ज्यान जोगाउने कि बाली भन्ने समस्या उत्पन्न भएको अर्का पीडित सन्तोष न्यौपाने बताउँछन् । कोरोना संक्रमण नबढोस् भनेर नगरपालिकाले सिलबन्दी गरेको र जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा लगाएको छ ।
भारतबाट आउने हात्तीले स्थानीयवासीको घर भत्काइदिने र घरभित्रको अन्न खाइदिने पहिल्यैदेखिको समस्या हो । पाकेको बाली खाने गरेता पनि खेतको रोपा धान यसअघि खाएको थिएन ।
हात्ती संरक्षण अभियानमा समेत जुट्नुभएको स्थानीय शंकर लुईटेलले छ बर्षअघि मेची नदी किनारमा गरिएको विद्युतीय तारबारमा मर्मत सम्भारको आवश्यकता औल्याए ।
स्थानीय बनमा रैथाने हात्तीको संख्या पनि धेरै छ । रैथाने हात्तीले भद्रपुर, शिवसताक्षी र दमक नगरपालिकामा घर भत्काएर र अन्नबाली खाएर क्षति पुर्याइरहेको डिभिजन वन कार्यालय झापाले जनाएको छ ।