काँकडभिट्टा । मेरुदण्डको बाथ (एन्काइलोजिङ स्पोनडाइलो आर्थराइटिस) का बिरामी झापा, बिर्तामोड २, चारपानेका ३२ बर्षीय प्रकाश शर्माको दैनिकी पीडादायी छ । समयमै उचित उपचार नपाउँदा तीन वर्षदेखि उनी ओछ्यान परेका हुन् ।
‘हिँडडुल गर्न सक्नु हुन्न’, प्रकाशकी पत्नी राधाले भनिन्, ‘तीन वर्षदेखि ओछयान पर्नुभएको उठ्न सक्नुभएको छैन ।’ प्रकाशलाई मेरुदण्डको बाथ भएको १२ वर्ष नाघ्यो । ओछ्यान नै परेको चाहिँ तीन वर्ष भयो । ‘चार वर्ष अघिसम्म त काम पनि गर्न सक्थेँ’, काठको मिस्त्री काम गर्ने प्रकाशले भने, ‘तर, अहिले केही गर्न सक्दिनँ, ओछ्यानमै दिन, रात बित्छ ।’
सुरुमा कुर्कुचा दुख्यो तर उनले सामान्य ठाने । सामान्य रूपको उपचार गरे । पछि समस्या बढ्दै गयो । पेट दुख्न थाल्यो । पेटपछि घुँडाको जोर्नी दुख्यो । ‘शरीरका जोर्नीहरूमा सुन्निने र पानी जम्ने भयो,’ प्रकाशले सुनाए, ‘समयमै रोग पहिचान नहुँदा उपचार राम्रो भएन, आज यो हबिगत भोग्दै छु ।’
मेरुदण्डको बाथको प्रमुख लक्षण ढाडको तल्लो भाग दुख्नु हो । यो दुखाइ महिनौंसम्म रहिरहन्छ र बिस्तारै बढ्दै जान्छ । आराम गर्दा ज्यादा दुख्ने र केही काम वा हिँडडुल गर्दा दुखाइ कम हुने यसका विशेषता रहेको चिकित्सकले जनाएका छन् ।
प्रकाशले १२ वर्षभित्र नेपाल र भारतका विभिन्न अस्पतालहरू चाहरिसके । ‘यस क्रममा करिब १५ लाख रुपैयाँ जति सकियो,’ उनले भने, ‘तर, बिमार बिसको उन्नाइस भएको छैन ।’ स्थानीय छरछिमेक तथा सहारा नेपाललगायत संघसंस्थाको आर्थिक सहयोगमा गत वर्ष उनी भारतको दिल्ली र भेल्लोरसम्म पुगे ।
उपचारपछि फर्किए । तर, बिमार ज्युँकात्युँ । डाक्टरले मेरुदण्डको बाथको शल्यक्रियाबाट मात्रै उपचार सम्भव हुने र त्यसका लागि करिब १५ लाख रुपैयाँ खर्च लाग्ने जनाएका छन् । तर, यत्रो रकम कहाँबाट जुटाउने भन्ने चिन्ताले प्रकाश थप तनावमा छन् ।
उनका अनुसार बिर्तामोडको कनकाई अस्पतालका डाक्टर प्रेमबहादुर शाहीले १५ लाख रुपैयाँ जति रकम जम्मा गरे शल्यक्रिया गर्न सकिने जनाएका छन् । इकान्तिपुरबाट