बिर्तामोड । कोभिड क्राइसिस म्यानेजमेन्ट कमिटी (सीसीएमसी)को टोलीले झापाको कोरोना संक्रमण अवस्था अध्ययन गरेर फर्किएको छ ।

सीसीएमसीका प्रमुख बालानन्द शर्माको नेतृत्वमा झापा आएको टोलीले झापाको कोरोना संक्रमण अवस्थाबारे अध्ययन गरेर फर्किएको हो ।

झापाका कोभिड फोकल पर्सन जीवन चौलागाईका अनुसार टोलीले झापास्थित डीसीसीएमसीसँग अन्तरक्रिया गर्दै जिल्लाको अवस्थाबारे जानकारी लिएको थियो । झापामा बढ्दै गएको संक्रमण नियन्त्रण गर्न सीसीएमसीले आवश्यक सहयोग गर्ने प्रतिवद्धतासमेत जनाएको बताइएको छ ।

सो टोलीसहित झापाको डीसीसीएमसीको टोलीले बुद्धशान्तिको आइशोलेशन, काँकरभिट्टाको होल्डिङ सेन्टर र हेल्थ डेक्स समेतको निरीक्षण गरेको कोभिड फोकल पर्सन चौलागाईले जानकारी दिए ।

टाेलीलाई झापामा अनियन्त्रित रुपमा कोरोना बढ्दै गएको जानकारी गराइएको छ । संक्रमण नियन्त्रण गर्न विशेष प्रकारको लकडाउन जरुरी भएको सीसीएमसीलाई अवगत गराइएको चौलागाइले जानकारी दिए । उनका अनुसार जिल्लाको समग्र अवस्था जानकारी दिदैं नियन्त्रणका लागि आवश्यक समन्वय गरिदिन माग गरिएको छ ।

सीसीएमसी प्रमुख शर्मा, डा भगवान कोइराला, सुरक्षा निकायका प्रमुखसहित आएको टोलीले झापामा कोरोना नियन्त्रणका लागि आवश्यक सुझाव दिएको छ ।

झापामा राजमार्ग, हवाई सेवा, अन्तर्राष्ट्रिय सीमा, कन्ट्याक्ट ट्रेसिङ नहुने, होम आइसोलेसनमा कडाई नहुने, खोपको कमी लगायतका कारण संक्रमण दर बढेको बताइएको छ । अक्सिजन प्लान्ट र अस्पतालको व्यवस्थापन प्रभावकारी बनाउन सीसीएससीको टोलीले सूझाव दिएको छ ।