सन्तोष पुर्कुटी,
ताप्लेजुङ । खानेपानीका लागि विभिन्न प्रयासहरु प्रायः असफल हुँदै आएको ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर क्षेत्रमा लिफ्टिङ प्रविधिको प्रयोग गरि खानेपानी पुर्‍याउने योजनाको काम करिब ८० प्रतिशत पूरा भएको छ ।

यसअघि खानेपानीका लागि खाल्डो खनेर हिउँ जम्मा गर्ने, पाइपबाट ल्याउने, कुहिरोबाट पानी झार्ने, आकासे पानी जम्मा गर्ने जस्ता योजना सफल र दीर्घकालिन नभएपछि पछिल्लो पटक लिफ्टिङ प्रविधिको प्रयोगबाट खानेपानी पुर्‍याउन लागिएको हो ।

करिब ४ किलोमीटर तल रहेको मुहानबाट लिफ्टिङ गरि मन्दिर सहित आसपासका बस्तीमा खानेपानी पुर्‍याउने लक्ष्यसहित नेपाल सरकारको ७० र उपभोक्ता संस्थाको ३० प्रतिशत लागत रहने गरि गतवर्षको कार्तिकदेखि आयोजनाको काम भइरहेको छ । बीचमा कुनै अवरोध नभए आगामी असोजसम्ममा पाथीभरा क्षेत्रमा खानेपानी पुग्ने निर्माण कम्पनी प्रेरा विष्णु जेभी ईलामका प्रतिनीधि नन्दकुमार ओझाले बताउनुभयो ।

अहिलेसम्ममा ६ वटा ट्याङ्की र पम्प हाउस बनिसकेका छन् । पाईप जडानको कार्य धमाधम भईरहेको छ । आयोजनाको कामले तिव्रता पाएपछि पाथीभरा क्षेत्रका बासिन्दालाई पानीको अभावबाट मुक्त हुने आसा पलाउन थालेको छ ।

पाथीभरा क्षेत्रमा पानीको अभावले होटल व्यवसायी र तीर्थयात्रीले सास्ती खेप्दै आएका छन् । कहिले हिउँ पगालेर त कहिले पाईपमा आएको तिरतिरे पानी जोहो गरेर यात्रीलाई खुवाउँदै आएका यहाँका होटल व्यवसायी लुगा धुन भने अन्यत्रै जानु पर्ने सम्मका बाध्यतामा छन् ।

यसरी खानेपानीको अभावले सास्ती भोग्दै आएका व्यवसायी र भक्तजनलाई निर्माणाधीन खानेपानी आयोजनाले आसा पलाए पनि पाथीभरा देवी दर्शन केवलकार प्रालिसंगको जग्गा विवाद आदिले भने केही कठिनाईहरु उत्पन्न भएको बताइन्छ ।

वार्षिक लाखौँ स्वदेशी तथा विदेशी भक्तजन पुग्ने पाथीभरा क्षेत्रमा समयमा खानेपानी आयोजना सम्पन्न भए वर्षौदेखि सास्ती खेप्दै आएका स्थानीय र भक्तजनलाई सहज हुने देखिन्छ । इमेज खबरबाट