अर्जुनधारा । झापाको अर्जुनधारा १ स्थित हलुवागढ सामुदायिक वन उपभोक्ता समूहको कार्यालयमा अख्तियारको टोलीले कागजात लगेकाे छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय इटहरीबाट आएको टोलीले समूहकाे कागजात लगेको हो । टोलीले कार्यालयका विभिन्न कागजपत्र बुधबार लगरे गएको छ । क्षेत्रीय कार्यालयका अधिकृतको नेतृत्वमा आएको ४ जनाको टोलीले कार्यालयका विभिन्न कागजपत्र लिएर गएको वन उपभोक्ता समुहका आन्तरिक लेखा समिति सदस्य देवनारायण राईले बताए ।

उनले २०७२ सालको वार्षिक साधारणसभाको माइन्यूट, २०६७ देखि २०७० सालसम्मको आन्तरिक प्रतिवेदन, बैठकको निर्णय पुस्तिका, घाटगद्धी रजिष्टर, पाइलिङ रजिष्टरलगायतका कागजपत्र लिएर गएको जानकारी दिए । समूहको विल भौचर नभेटेपछि अख्तियारको टोलीले भोलि फेरि आउने बताइएको छ ।

तर, केही सञ्चारमाध्यममा अख्तियारले छापा मारेको भन्ने समाचार आएपछि वनका अध्यक्ष चक्र तामाङले भने अख्तियारले कार्यालयमा छापा नमारेको बताएका छन् । ‘छापा मारेको होइन, अख्तियारले जाँचबुझका लागि आएको भनेर निवेदन दिएपछि प्रतिलिपिमात्र लगेको हो’, उनले भने, ‘मागेको कागजातको पनि प्रतिलिपिमात्र दिएको चाहिँ हो ।’

अख्तियारले सक्कल कागजपत्र पनि नलगेको उनले बताए । बाहिर भनिएजस्तो हलुवागढमा अख्तियारले छापा नमारेको अध्यक्ष तामाङको दाबी छ ।

उनका अनुसार अख्तियारको टोलीले ०७६/०७७ र ०७७/०७८ को अडिट किन नगरेको भन्ने बुझ्न खोजेको थियो । अख्तियारले लेटर प्याडमा हलुवागढलाई सम्बोधन गरेर निवेदन दिएपछि तोक लगाएर दर्ता गरी कागजातको प्रतिलिपी दिइएको अध्यक्ष तामाङको भनाइ छ ।

यसअघि वन उपभोक्ता समूहमा भ्रष्टाचार भएको भन्दै उजुरी परेपछि अख्तियारले छानबिन थालेको थियो । छानबिन पहिलादेखि नै शुरु भई आज गएर कागजपत्र लिएर आएको क्षेत्रीय कार्यालयका सूचना अधिकारी पुरुषोत्तम ढकालले बताए । हलुवागढ सामुदायिक बनमा २४ लाखभन्दा बढी आर्थिक अनियमितता भएको उपभोक्ताहरुले दावी गरेका छन् ।

उनले आबश्यक कागजपत्र नभेटिएकाले भोलि पनि टोली जाने जानकारी दिए । यसअघि गत माघ महिनामा भ्रष्टाचार भएको भएको भन्दै नेपाली कांग्रेसले तालाबन्दी गरेको थियो । नेपाली काँग्रेस वडा सभापति नेत्रप्रसाद आचार्यको नेतृत्वमा गएको काँग्रेस प्रतिनिधि तथा उपभोक्ता समूहले तालाबन्दी समेत गरेका थिए ।

झापाको अर्जुनधारा वडा नं १ मा पर्ने यस सामुदायिक वन २०५४ सालमा स्थापना भएको हो । १७ सदस्यीय उपभोक्ता समितिमा ११ जना नेकपाबाट सदस्य रहेका छन् भने ६ जनाले नेपाली काँग्रेसबाट समितिमा प्रतिनिधित्व गरेका छन् ।