झापा । शिक्षा अध्ययन गरिरहेका १८ देखि ३५ वर्ष उमेरका युवा लागुऔषधको कुलतमा फस्ने गरेको एक तथ्याङ्कले पुष्टि गरेको छ ।

गत आर्थिक वर्ष २०७७/०७८ मा ३०७ लागुऔषध मुद्दामा पक्राउ परेकामध्ये शिक्षा अध्ययनसँगै सिर्जनशील काम गर्ने युवा २६१ जना अर्थात् ८५ प्रतिशत छन् ।

जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी राकेश थापाले लागुऔषध मुद्दामा पक्राउ परेका अधिकांश अभियुक्त माध्यमिक शिक्षा (दश जोड दुई) र उच्च शिक्षा अध्ययन गरिरहेका हुने गरेको बताउनुभयो । कुलतमा फसेपछि उनीहरूको पढाई बिग्रिने गरेको छ । सोही आवमा १८ देखि २० वर्षमा पक्राउ पर्ने १५३ र २५ देखि ३५ वर्षका १०८ रहेको उहाँले बताउनुभयो ।

पक्राउ परेका युवामध्ये प्रवेशिका परीक्षा र दश जोड दुई पढ्दै गरेका १०२, कक्षा १० का १०१ र सामान्य साक्षर १०४ रहेको जनाइएको छ ।

जिल्लाको पूर्वी र दक्षिणी सीमा भारतको पश्चिम बङ्गाल र विहार प्रान्तसँग जोडिएको छ । भारतीय सीमावर्ती बजार र खुला नाका हुँदै स्वदेशमा लागुऔषध भित्रिँदै आएको छ । कोभिड-१९ को महामारीमा नाकाबन्दी भएका अवस्थामा समेत लागुऔषधको कारोबार जिल्लामा घटेको छैन । आर्थिक वर्ष २०७७/७८ मा पक्राउ परेका कूल कारोबारी मध्ये भारतीय नागरिक आठ प्रतिशत छन् ।

जिप्रकाको तथ्याङ्कअनुसार सो आवमा जिल्लामा लागुऔषधको १९५ मुद्दा दर्ता भएका छन् भने अघिल्लो आव मा ११८ मात्र मुद्दा दर्ता भएका थिए । जिल्लामा दर्ता भएका मुद्दा र पक्राउ परेका अभियुक्तको विश्लेषण गर्दा व्यापारिक मुनाफा आर्जन गर्ने उद्देश्यले लागुऔषधको प्रयोग गर्ने अपराध बढेको पाइएको छ ।

आव २०७७/७८ मा पक्राउ परेकामध्ये ४२ प्रतिशतले लागुऔषधको प्रयोग आर्थिक उपार्जनका लागि गरेको प्रहरीलाई बयान दिएका थिए जबकि आव २०७६/०७७ मा यो प्रतिशत २६ मात्र थियो । आव २०७७/०७८ मा पक्राउ परेकामध्ये ३८ प्रतिशतले लागुऔषध सेवन गर्ने उद्देश्य रहेको बताएका थिए । २० प्रतिशतले आफ्नो उद्देश्य खुलाएनन् ।

पूर्वी नेपालको प्रमुख नाका काँकडभिट्टासँग जोडिएको भारतीय नाका पानी ट्याङ्की नेपालमा लागुऔषध भित्रिने मुख्य अखडा हो ।