बिर्तामोड । बिर्तामोड उद्योग वाणिज्य संघले बिर्तामोड ३ का अपाङ्गता भएका २५ परिवरलाई राहत वितरण गरेको छ । कोरोना कहरका कारण आर्थिक समस्यामा परेका अपाङ्गता भएका ब्यक्तिलाई राहत वितरण गरिएको हो ।

लामो समयको निषेधाज्ञाका कारण आर्थिक समस्या भएपछि अपाङ्गता भएका ब्यक्तिहरु मारमा परेको भन्दै सहयोग गरिदिन सबैसंग आग्रह गरेका थिए । बिर्तामोड उद्योग वाणिज्य संघले अपाङ्गता भएका व्यक्तिहरुलाई मंगलबार एक कार्यक्रमका बीच खाद्यान्न वितरण गरेको हो ।

बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटीको अध्यक्षतामा भएको कार्यक्रममा बिर्तामोड ३ का वडाध्यक्ष भोजराज सिटौलाको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा संघका पदाधिकारी तथा सदस्य सहभागी थिए । कार्यक्रममा चामल, दाल, तेल लगायतका खाद्यन्न सहयोग गरिएको थियो ।

यसैबीच मंगलबार नै छठ समाज सेवा समिति बिर्तामोड र सुनचाँदी व्यवसायी संघले संयुक्तरुपमा बिर्तामोड नगरपालिका १ र २ मा अपाङ्गता भएका १५ परिवारलाई राहत वितरण गरेको छ ।

लकडाउनको समयमा जीविकोपार्जनको कुनै उपाय नरहेको र दैनिकी चलाउन असहज भएको जानकारी प्राप्त भएपछि दुवै संस्थाले राहत उपलब्ध गराएको हो ।

छठ समाजका वरिष्ठ उपाध्यक्ष रामेश्वर द्विवेदीको सभापतित्व एवम् बिर्तामोड नगरपालिका २ का वडाध्यक्ष नगेन्द्र संग्रौलाको प्रमुख आतिथ्यता, स्वागत सुनचाँदी व्यवसायी संघका वरिष्ठ सदस्य रमेश बराइलीले गरेको कार्यक्रमको सञ्चालन छठ समाजका सेवा समितीका महासचिव मनोज रौनियारले गरेका थिए ।

यसअघि सोमबार वीरता लेडी जेसीजले बिर्तामोड–४ का १५ परिवारलाई खाद्यन्न सामग्री वितरण गरेको थियो ।