विराटनगर । संखुवासभाको मादीमा एकै परिवारका ६ जनाको क्रुरतापूर्वक हत्या गरिएको घटनाको अनुसन्धानमा प्रहरीले अहिलेसम्म कुनै उपलब्धि हात पार्न सकेको छैन।

घटनाको अनुसन्धानमा प्रदेश १ प्रहरी प्रमुख डीआईजी अरुणकुमार बीसीसमेत खटिएका छन् । उनी बुधबार साँझ ७ बजेतिर घटनास्थल पुगेका हुन् । अनुसन्धानका लागि घटनास्थलमा प्रहरीका चारवटा टिम खटिएका छन् ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी), प्रदेश १ प्रहरी कार्यालय विराटनगर, संघीय इकाई प्रहरी कार्यालय धरान र संखुवासभा प्रहरीको टोलीले घटनाको अनुसन्धान अघि बढाउँदै हत्याराको खोजी गरिरहेको हो ।

सामूहिक हत्या भएको चार दिन भइसक्दा पनि प्रहरीले घटना निस्कर्षमा पुर्‍याउन सकेको छैन ।

संखुवासभा प्रहरी प्रमुख डीएसपी लालध्वज सुवेदीले विभिन्न कोणबाट प्रमाण संकलन गर्दै मजवुत ढंगले घटनाको अनुसन्धान जारी राखिएको बताए ।

‘धेरै पाटोबाट अनुसन्धानलाई जारी राखिएको छ । केही स्थानीय व्यक्तिहरुसँग पनि घटनाका बारेमा सोधपुछ गर्ने काम भइरहेको छ’, उनले भने, ‘तर ठ्याक्कै निस्कर्षमा पुग्न सकिएको छैन । अहिलेसम्म उपलब्धि हात परेको छैन ।’

तालिम प्राप्त कुकुरहरुसहित अनुसन्धानरत प्रहरीको सक्रियताले पनि उपलब्धि हाँसिल हुन नसकेपछि स्थानीयमा त्रास बढेको छ । मादी नगरपालिका १ खोलागाउँको उम्लिङमा भएको उक्त हत्याकाण्ड अहिले देशभरी नै चासो र चर्चाको विषय बनेको छ ।

तर, घटना भएको ४ दिन बितिसक्दा पनि हत्यामा संलग्नको पहिचान हुन नसक्दा प्रहरीको अनुसन्धान उपलब्धिविहीन देखिएको हो । अन्नपूर्णपोष्टबाट