संखुवासभा । संखुवासभाको मादी नगरपालिका १ उम्लिङखोला गाउँमा भएको सामूहिक हत्यामा संम्लग्न भएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
हत्यामा संम्लग्न भएको आरोपमा मादी १ उम्लिङखोला गाउँकै एक व्यक्तिलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी प्रमुख डिएसपी लालध्वज सुवेदीले जानकारी दिए । घटनाको बारेमा थप जानकारी आइतबार पत्रकार सम्मेलन गराउने डिएसपी सुवेदीले बताए ।
गत सोमबार मादी १ उम्लिङको खोला गाउँमा ५२ वर्षीय तेजबहादुर कार्की, ८४ वर्षीया आमा पार्वती कार्की, ५२ वर्षीया श्रीमती कमला कार्की, तेजबहादुरकी बुहारी ३२ वर्षीया रञ्जना कार्की, नाति ११ वर्षीय दीपेन कार्की र नातिनी ७ वर्षीया गोमा कार्कीको हत्या भएको थियो ।
घटनाको अनुसन्धानका लागि प्रदेश नम्बर १ का प्रहरी प्रमुख नायब महानिरीक्षक अरुणकुमार बीसी, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) लगायतको टोली घटनास्थल आइपुगेको थियो । घटनामा सम्लग्न भएको आरोपमा कार्की परिवारकै आफन्त भएको डिएसपी प्रमुख सुवेदीले बताए ।
यसअघि प्रहरीले केही व्यक्तिलाई पक्राउ गरी अनुसन्धान गरिरहेको बताउँदै आएको थियो । प्रहरीले अरु कसैलाई पक्राउ नगरेको बताएको छ ।
शुक्रबार थप एक जना शंकास्पद व्यक्तिमाथि अनुसन्धान अघि बढाएको र शुक्रबार नै एक जना छिमेकीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका छिमेकीको घर घटना घटेको घरबाट करिब १ सय ५० मिटरको दूरीमा रहेको छ ।