घरबाट उद्धारपछि विर्ता सिटीमा स्वास्थ्य परीक्षण गरिँदै ।

बिर्तामोड । झापाको अर्जुनधाराका २८ वर्षीय युवा गोपी बस्नेतको उपचार हुने भएको छ ।

रकम अभावले उपचार नहुँदा शरीरका विभिन्न भाग कुहिन थालेको अवस्थामा उनी घरमै थिए । यसै विषयमा विभिन्न सञ्चारमाध्यममा समाचार प्रशारण, प्रकाशन भएको थियो । त्यसलगत्तै उनको उद्धार भएको छ ।

अर्जुनधारा नगरपालिका ६ लक्ष्मीपुरका २८ वर्षीय युवा गोपी बस्नेतको रकम अभावका कारण उपचार हुन नसक्दा शरीरका विभिन्न भाग कुहिन थालेको थियो ।

यसैबीच, पूर्ण–टुंग बिर्ता सिटी हस्पिटल बिर्तामोडका अध्यक्ष गोपालकुमार बस्नेतले उक्त समाचार पढे लगत्तै हस्पिटलका प्रशासन प्रमुख विनोद बस्नेत र जनसम्पर्क अधिकारी बमबहादुर बस्नेतलाई उनको तत्काल उद्धार गर्न निर्देशन दिए ।

बस्नेतको निर्देशन लगत्तै जनसम्पर्क अधिकारी बस्नेत एम्बुलेन्स लिएर गोपीको उद्धारका लागि उनी बसेको स्थानमा पुग्दा स्थानीयको निकै ठूलो भीड देखिएको थियो । कतिपय स्थानीयले भने, पत्रकारकै कारण गोपीले पुनर्जीवन पाउने भए ।

उनको उद्धार भएसँंगै बिर्ता सिटी हस्पिटलमा उपचार शुरु भएको छ । हस्पिटलले उनको सम्पूर्ण उपचार निःशुल्क गर्नुका साथै पूर्णरुपमा ठीक भएपछि रोजगारीको ब्यवस्थासमेत गर्ने बताइएको छ । गोपीको उपचारमा डाक्टर विजय केसी, नारायण ताजपुरिया र सञ्जीव चौधरीको टोली खटिएको छ ।

चिकित्सकका अनुसार गोपीको दुर्बलता के कारणले भयो भन्नेबारेमा सम्पूर्ण मेडिकल चेकपछि मात्रै थाहा हुनेछ । गोपीलाई उपचार सँंग–सँंगै उनको क्षमता अनुसारको रोजगारी पनि अस्पतालले दिने बताइएको छ ।

सम्पूर्ण कारणले गोपी तन्दुरुत भएपछि उनको योग्यता क्षमता अनुसारको रोजगारी दिने अस्पतालका अध्यक्ष गोपालकुमार बस्नेतको भनाई उद्धृत गर्दै प्रशासन प्रमुख विनोद बस्नेतले बताए । अस्पताल प्रशासनका अनुसार विरामीको उपचारका समयमा कुरुवा बुबा बलबहादुरको खाना र बस्ने व्यवस्था समेत निःशुल्क गरिनेछ ।

२८ वर्षीय छोरा गोपीको रकम अभावका कारण उपचार हुन नसक्दा एक वर्षदेखि गोपी ओच्छ्यान परेका थिए । गोपी यातायात मजदुर हुन् । उनी सार्वजनिक यातायातको यात्रुबाहक बसमा सहचालकको रुपमा काम गर्थे । घरको आर्थिक व्यवहार उनको आम्दानीले थेग्न नसकेपछि बुवाको सल्लाहमा उनी डेढ वर्षअघि भारतको बैंग्लोरमा रोजगारीका लागि गएका थिए ।

कोरोना महामारीका बेला बैंग्लोरमा भएको लकडाउनले उनको रोजगारी खोसिएपछि ६ महिना उनी सडकमा भोकै हुन पुगे । २०१२ सालमा भोजपुरबाट बिर्तामोड झरेको बस्नेत परिवार अहिलेसम्म बहालमा बस्दै आएको छ । पहाडबाट मधेस झर्दा बलबहादुर रित्तै हात झरेका थिए । उनले उमेर हुञ्जेल अरुको घरमा भान्से काम गरे ।