ताप्लेजुङ । प्रत्येक शुक्रवार बन्द हुँदै आएको ताप्लेजुङको फुङलिङ बजार दशैं-तिहार जस्ता चाडपर्व नजिकिन थालेपछि आजदेखि खुल्ला गरिएको छ । चाडपर्वको समयमा उपभोक्तालाई सहजता पुर्याउने उद्देश्यका साथ आजदेखि बजार खुल्ला गरिएको उद्योग वाणिज्य सङ्घ ताप्लेजुङले जनाएको छ ।
वाणिज्य सङ्घले असोज १ गते शुक्रवारबाट कात्तिक १९ गतेसम्म बजार खुल्ला गर्ने निर्णय लिएको वाणिज्य संघका कार्यकारी भीष्मराज बरालले जानकारी दिनुभयो ।
यसैबीच, ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभराको दर्शन आजदेखि खुला गरिएको छ । कोरोना भाइरस महामारीका कारण विगत पाँच महिनादेखि रोक लगाइएको पाथीभरा देवीको दर्शन गर्न खुला गरिएको हो ।
हाल कोभिड १९ को प्रभाव न्यून हुँदै गएकाले र पाथीभरा दर्शन गर्ने मुख्य मौसमसमेत सुरु भएकाले आजदेखि दर्शनका लागि खुला गर्ने निर्णय गरिएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ ।
समितिद्वारा जारी विज्ञप्तिअनुसार स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्दै भक्तजनका लागि दर्शन, पूजाआजा, ध्यान तथा प्रार्थना गर्न खुला गरिएको हो ।