झापा । बिएन्डसी र पूर्वाञ्चल क्यान्सर हस्पिटलका संचालक दुर्गाप्रसाद प्रसाईंले धनगढीमा क्यान्सर अस्पताल खोल्ने घोषणा गरेका छन् ।

मंगलबार धनगढीमा गरिएको पत्रकार सम्मेलनमा बिएण्डसी हस्पिटलका सञ्चालक प्रसाईंले त्यस्तो घोषणा गरेका हुन्। धनगढीमा अस्पताल सञ्चालन गर्नुपर्छ भन्ने यो क्षेत्रका आफ्ना साथीहरुको प्रस्ताव आएपछि अस्पतालको सम्भाव्यता अध्ययनकै क्रममा आफू धनगढी आएको प्रसाईंले बताए।

झापामा सुविधा सम्पन्न पूर्वाञ्चल क्यान्सर अस्पताल सञ्चालनमा आएपछि काठमाडौँ र सुदूरपश्चिममा पनि सुविधा सम्पन्न अत्याधुनिक क्यान्सर अस्पताल खोल्ने आफ्नो योजना रहेको उनले बताए।

झापामा सञ्चालनमा रहेको बिएण्ड सी अस्पताल दक्षिणपूर्वी एशियाकै अत्याधुनिक सुविधासम्पन्न अस्पताल भएकोले धनगढी क्षेत्रका बिरामीको उपचारका लागि पनि आफ्नो अस्पताल भरपर्दो गन्तव्य हुने उनले दावी गरे।

यसका साथै सुदूरपश्चिमका बिरामीहरूको उपचार खर्चमा २० प्रतिशत बिएण्डसीमा छुट दिने उनको भनाइ छ । अस्पतालसँगै होटेल क्षेत्रमा पनि आफ्नो लगानी र अनुभव भएकोले अस्पताल सञ्चालनका लागि सकारात्मक सहयोग र सद्भाव प्राप्त भए अन्य क्षेत्रमा पनि लगानी गर्न आफू तयार रहेको प्रसाईले बताए ।

अहिले अस्पताल निर्माण र सञ्चालनका लागि उपयुक्त ठाउँमा जग्गाको खोजी भइरहेको उनले बताए । काम गर्ने र लगानी गर्ने वातावरण निर्माण भए ठूलो संख्यामा विदेशिने युवालाई रोक्न सकिने भए पनि लगानीमैत्री वातावरण बन्न नसक्दा युवा पलायन भइरहेको प्रसाईंले बताए ।

सुदूरपश्चिममा अस्पताल निर्माण र सञ्चालनका लागि सकारात्मक वातावरण निर्माण गर्न प्रसाईंले सबैलाई अनुरोध गरेका छन्।