बिर्तामोड । मेची प्रादेशिक अस्पताल भद्रपुरले अक्सिजन उत्पादन शुरु गरेको छ ।

शनिवारदेखि अक्सिजन उत्पादन शुरु गरेको अस्पताल व्यवस्थापन तथा सञ्चालन समितिका अध्यक्ष सोमनाथ पोर्तेलले जानकारी दिए ।

मेची प्रादेशिक अस्पताललाई अक्सिजन उत्पादनका लागि प्रदेश १ सरकारले गत आर्थिक वर्षमा १ करोड उपलब्ध गराएको थियो । अक्सिजन उत्पादन गर्ने प्रविधि, भवन निर्माण र जडानमा सो रकम खर्च गरिएको बताइएको छ ।

दैनिक ३५ सिलिण्डर अक्सिजन उत्पादन गर्न सक्ने क्षमताको प्लाण्टले अहिलको सामान्य अवस्थालाई धान्न सक्ने अध्यक्ष पोर्तेलको भनाइ छ । उनका अनुसार आगामी दिनमा दैनिक ११५ सिलिण्डर उत्पादन गर्न प्लाण्ट जडान गरिनेछ ।

मेची अस्पताललाई आवश्यक पर्ने अक्सिजन आफैँ उत्पादन गर्ने योजना रहेको अध्यक्ष पोर्तेलले बताए । उनले प्लाण्ट थप गर्दै अक्सिजनको समस्या समाधान गर्ने जानकारी पनि दिए ।

यसअघि अस्पतालले विभिन्न कम्पनीबाट अक्सिजन खरिद गर्दै प्रयोग गर्ने गरेको थियो ।