काठमाडौँ । मनसुन सकिएपछि आएको भारी वर्षाका कारण बाढीपहिरोमा परी बुधबार थप ७२ सहित मृत्यु हुनेको संख्या ८८ पुगेको छ । सुदूरपश्चिमबाट सुरु भएको अविरल वर्षा मंगलबारदेखि पूर्वतर्फ सर्दा पूर्वी पहाडी जिल्लामा जनधनको क्षति बढी भएको छ ।

 

बुधबार पाँचथरमा २७, इलाममा १३, धनकुटामा ७, उदयपुरमा २ र मोरङमा १ जनाको मृत्यु भएको छ । त्यसैगरी पश्चिमका बझाङ र हुम्लामा ६-६, डोटीमा ५, कपिलवस्तु, प्यूठान, डडेलधुरा, बैतडी र कैलालीमा १-१ जनाको ज्यान गएको हो ।

 

पाँचथरको मिक्लाजुङ गाउँपालिकामा मात्रै २१ जनाको मृत्यु भएको र ३ जना बेपत्ता रहेको पालिका अध्यक्ष अमर माखिमले बताए । मंगलबार राति पहिरोमा पर्दा पाँचथरको फिदिम ४ मा २, फाल्गुनन्दमा ३ र कुम्मायकमा १ जनाको मृत्यु भएको छ ।

 

पाँचथरका प्रमुख जिल्ला अधिकारी पुण्यप्रसाद ढकालले दर्जनौं घररपरिवार विस्थापित भए पनि टेलिफोन र मोबाइल सेवा अवरुद्ध भएका कारण क्षतिको पूर्ण विवरण संकलन हुन नसकेको बताए ।

 

इलामको फाकफोकथुम गाउँपालिकामा पुरिएर एकै परिवारका ४ सहित ६ जनाको ज्यान गएको छ । घरमाथिको ढिस्को खस्दा ८६ वर्षीय नैनसिंह कटुवाल, ७५ वर्षीया रनदत्ता थापा, १५ वर्षीया निशाना कटुवाल र १३ वर्षीय निश्चित कटुवालको मृत्यु भएको हो । माथिल्लो तलामा सुतेका समीक्षा र गोमा कटुवाल बच्न सफल भएका छन् ।

 

‘पहिरोले घरलाई धक्का दिँदा माथिल्लो तलामा सुतेका दुई जनालाई उछिट्याएर बाहिर फाल्दा बाँच्न सफल भएका हुन्,’ स्थानीय उद्धव लामिछानेले भने । धनकुटाको चौबीसे गाउँपालिका-१ गडेरेमा पहिरोले घर भत्काउँदा ७ जनाको मृत्यु भएको छ, पाँच जना घाइते भएका छन् ।

 

मृत्यु हुनेमा ११ वर्षीय सञ्जाल श्रेष्ठ, ६० वर्षीय भीमबहादुर श्रेष्ठ, उनका नाति ९ वर्षीय विनोद, ५ वर्षीया नातिनी निर्जला र झापा दमक– ११ घर भएका पाहुना ३९ वर्षीय सञ्जीव श्रेष्ठ, ३८ वर्षीया लक्ष्मी श्रेष्ठ र ७ वर्षीया दिप्सन श्रेष्ठ छन् । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।