फिदिम । झापाको चारआलीदेखि ताप्लेजुङको सुकेटारसम्म जोड्ने मेची राजमार्ग पहिरोका कारण अवरुद्ध ताप्लेजुङ-पाँचथर खण्ड सञ्चालनमा आएको छ । मंगलबार दिउँसोदेखि सञ्चालनमा आउन नसकेको राजमार्ग खुलाउन बुधबार सवेरैबाट प्रयास गरिएको थियो ।

 

राँकेदेखि फिदिम खण्ड बुधबार राति अवेरसम्म खुलाउनका लागि प्रयास भएको थियो । तर, सम्भव भएको थिएन । आजबाट ताप्लेजुङबाट पाँचथरको फिदिमदेखि राँकेसम्मको खण्ड सञ्चालनमा आएको पाँचथरका प्रमुख जिल्ला अधिकारी पुन्यप्रसाद ढकालले जानकारी दिए ।

 

राँके फिदिम खण्ड खुलाउनका लागि चारवटा स्काभेटर, नेपाली सेना, सशस्त्र प्रहरीको टोली खटिएको थियो । अहिले बाटो सञ्चालनमा आइसकेको छ ।

 

पाँचथरदेखि इलामको रक्सेसम्म्मको सडकमा भएको अवरोध खुलाउने प्रयास भइरहेको इलामका एसपी महेन्द्रकुमार श्रेष्ठले बताए । आज बेलुकासम्ममा सडक सञ्चालनमा आउने उनको भनाइ छ । उक्त अवरोध हटे मेची राजमार्ग पूर्णरुपमा सञ्चालनमा आउनेछ ।

 

इलामको मंगलबारेदेखि नेपालटारसम्मको सडक एकतर्फी सञ्चालनमा आएको इलाम प्रहरीले जनाएको छ । बाटो अवरोध हुँदा मंगलबार रातिदेखि नै यात्रुहरु बीच बाटोमा रोकिएका थिए । यसका साथै तमोर करिडर, मध्यपहाडी लोकमार्गका विभिन्न सडक अवरुद्ध छन् ।

 

ठाँउ ठाँउमा पहिरो झरेर सडक अवरुद्ध भएपछि दसैँ मान्न गएका तथा फर्किदैँ गरेकाहरु बाटोमा अलपत्र भएका थिए । ताप्लेजुङमा रहेकी प्रसिद्ध पाथिभरा देविको दर्शन गर्न हिँडेका र फर्किएकाहरु हेवाँ खोला र फिदिम लालीखर्कमा बसिरहेका थिए ।