फिदिम । पहिरोले मुहान बिगारेपछि फिदिम बजारमा तीन दिनयता खानेपानीको हाहाकार भएको छ। कात्तिक १ गतेदेखि ३ गतेसम्मको अविरल वर्षातपछिको पहिरोले खानेपानीका मुहान भत्काएको हो। मुहान भत्केपछि कार्तिक ३ गतेदेखि बजारमा पानीको आपूर्ति ठप्प छ।
मुहान बगेपछि फिदिम नगरपालिका १, २ र ४ नम्बर वडामा पानीको हाहाकार भएको हो। फिदिम खानेपानी तथा सरसफाई समितिको अध्यक्ष समेत रहेका फिदिम १ का वडाध्यक्ष गजाधर भट्टराईका अनुसार पहिरोले मुहानका सबै संरचना भत्काएको छ।
‘रानीटार र लुङरुपाको बीचमा रहेको आप्तुवा खोलाको मुहान सुचारु गर्न एक हप्ता लाग्न सक्छ’, भट्टराईले भने, ‘अन्य मुहानहरु शनिबार बेलुकासम्म सुचारु गर्ने गरी काम गरिरहेका छौँ।’
नाम्दु, बर्मेली र सिस्ने मुहानलाई शनिबार बेलुकासम्ममा सूचारु गर्ने तयारी छ। तीन ओटा मुहान सूचार गरेपछि आइतबार बिहानदेखि कम मात्रामा भए पनि पानी वितरण गर्न सकिने भट्टराईले बताए।
पहिरोले मुहान क्षेत्रका सबै संरचनामा क्षति पुर्याएको हो। पानी सूचारु गर्न नेपाली सेनाको सहयोगमा कामलाई तीव्रता दिइएको उपभोत्ता समितिले जनाएको छ।
पाँचथर जिल्लाका विभिन्न स्थानमा गएको बाढी र पहिरोमा परी ज्यान गुमाउनेको संख्या ३० जना पुगेको छ ।
शुक्रबार जिल्लाको फाल्गुनन्द गाउँपालिका ४ का ८ वर्षीय मिक्तोक चेम्जोङ र फिदिम नगरपालिका ६ की २२ वर्षीया सम्पदा आले मगरको शव पहिरोले पुरिएको अवस्थामा भेटिएसँगै मृतकको संख्या ३० पुगेको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी डम्बर विश्वकर्माले जानकारी दिए ।
जिल्लामा बिहीबार साँझसम्म ज्यान गुमाएका २८ जनाको यसअघि नै सनाखत भइसकेको छ । पाँचथरमा पहिरो र बाढीमा फसेकामध्ये ४ जनाको अवस्था अज्ञात छ । उनीहरुलाई स्थानीय प्रशासनले बेपत्ताको सूचीमा राखेको प्रमुख जिल्ला अधिकारी पुण्यप्रसाद ढकालले बताए ।
उनका अनुसार मिक्लाजुङ गाउँपालिकामा ३ र फिदिममा १ गरी ४ जना बेपत्ता छन् । उनीहरुको खोजीका लागि स्थानीयसँगै नेपाल प्रहरी र सशस्त्र प्रहरी खटिरहेको प्रजिअ ढकालले बताए ।